बिर्तामोड । माघ ९ गतेदेखि शुरु हुन लागेको दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवको तयारी तीब्र पारिएको छ । झापाको बिर्तामोडको सिटीसेन्टर, धर्मकाँटा उत्तरपट्टि महोत्सवको तयारी थालिएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ बिर्तामोड नगर समन्वय परिषदद्वारा माघ ९ देखि ३० गतेसम्म दोस्रो आदिवासी जनजाति बिर्तामोड महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा सयभन्दा बढी स्टल निर्माण भइरहेको आयोजकले जनाएको छ । त्यहाँ नगरका १७ वटा जातिको जातीय पहिचान झल्किने स्टल रहने महासंघले जनाएको छ ।
त्यस्तै खेल तमासा, बाल उद्यान, अटोमोबाइल्स, आइटी लगायतका व्यावसायिक स्टलहरु रहने महासंघका वीरेन मेचेले जानकारी दिएका छन् । उनले आदिवासी जनजातिका जातीय परिकारहरुको स्टल पनि रहने जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहने जनाइएको छ ।
द एलिमेन्ट बेन्ड, सविन राईको बेन्ड, पूर्ण राईको बेन्ड, सपना सुमनको बेन्डसँगै कलाकारहरु शान्तिश्री परियार, ज्योति मगर, मेलिना राई, एलिना चौहान, राजनराज शिवाकोटीलगायत आउने निश्चित भइसकेको मेला सञ्चालक नारायण अधिकारीले बताए ।
महोत्सवमा सयपत्री इन्टरटेन्मेन्ट प्रालि दमकको व्यवस्थापकीय भूमिका रहेको जनाइएको छ ।