मोरङ । राष्ट्रिय सभा सदस्य पदका लागि बिहीबार कोशी प्रदेशमा मतदान सुरु भएको छ । सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन् ।
गठबन्धनसँग मुकाबिला गर्न नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चुनावी तालमेल भएको छ ।
सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग एमालेकी रुक्मिणी कोइराला भिड्दै छन् । यस्तै मधेस प्रदेशमा राष्ट्रियसभाका २ सिटका लागि ५ जना चुनावी मैदानमा छन् ।
गठबन्धनबाट अन्यतर्फ कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जसपाकी पूजा चौधरी उम्मेदवार छन् ।
गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरीविरुद्ध एमालेले अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनी मैदानमा पठाएको छ ।
यता सत्ता गठबन्धनमा रहेका जनमत पार्टीले पनि अन्यतर्फ रामशंकर महासेठ प्रतिस्पर्धामा उतारेको छ ।