काठमाडौं । इजरायलसँग युद्धविराम सम्झौता भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका बन्दीहरूलाई मुक्त गर्दै गएको छ । सम्झौताको पहिलो चरणमा मुक्त गरिने भनिएका ३३ बन्दीको सूचीमा नेपाली युवा विपिन जोशीको नाम छैन । तर, उनलाई मुक्त गर्न सबै पक्षले पहल गरिरहेका छन् ।
यसबीच, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका विपिनको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गरेका छन् ।
सोमबार शिष्टाचार भेटका लागि आएका नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससँग उनले जोशीको रिहाइका लागि पहल गर्न आग्रह गरेका हुन् । भेटमा उनले इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षा र रोजगारीका विषयमा ध्यान दिन पनि आग्रह गरेको अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिए ।