गुगल र माइक्रोसफ्टले आफ्ना सर्च इन्जिनमा आर्टिफिशल इन्टेलिजन्स ‘एआई’ राख्न लागेको घोषणा गरेसँगै हामीले अनलाइन माध्यममा सूचना खोज्ने र पाउने तरिकामा क्रान्ति आउन सक्ने ठानिएको छ।
तिनले कसरी काम गर्छन् र हाम्रो जीवनमा कस्तो भिन्नता ल्याउन सक्छन् भनेर हामीले सबैभन्दा उपयुक्त ठानिएको स्रोतलाई प्रश्न गर्यौँ। अर्थात् एआई च्याटबटलाई।
“एआईले यसअघिबाटै खोजी गर्ने तरिका परिवर्तन गरिरहेकै छ र भविष्यमा पनि गरिरहनेछ,” बहुचर्चित च्याटजीपीटी (ChatGPT) ले बीबीसीलाई उत्तर दियो।
यो च्याटबटका लागि प्रयोग गरिएको सफ्टवेअरको एउटा संस्करणले अब छिट्टै माइक्रोसफ्टको ‘बिङ’ सर्च इन्जिनका लागि काम गर्नेछ। इन्टरनेट खोजीमा गुगलको वर्चस्व तोडेर अगाडि आउन आफूलाई चुनौती रहेको च्याटजीपीटी आफैँ स्वीकार गर्छ।
“गुगल सबैभन्दा व्यापक प्रयोग हुने सर्च इन्जिन हो। अतिसान्दर्भिक र सही नतिजाका लागि यो चिनिएको छ,” आफ्नो प्रतिस्पर्धीबारे च्याटजीपीटी भन्छ।
“मेरो तालिमको तथ्याङ्क (२०२१) का अनुसार गुगल सबैभन्दा लोकप्रिय सर्च इन्जिन हो।”
- किन केही मानिसहरू सधैँ नै ढिलो मात्र हुन्छन्?
- इन्टरनेट स्वीकारोक्ति: इन्टरनेटमा गोप्य कुरा खोल्ने एउटा संसार
अहिले च्याटजीपीटीले सन् २०२१ र त्यसभन्दा अघि इन्टरनेटमा राखिएका विवरणहरूका आधारमा मात्रै आफ्नो जबाफ दिने गरेको बताउँछ।
यसको एआई प्रविधिको परिस्कृत संस्करणले प्रतिस्पर्धीमाझ च्याटजीपीटीलाई सशक्त बनाउने माइक्रोसफ्टको आशा छ।
हामीले यो प्रविधिलाई क्रान्तिको रूपमा हेरिनुका कारणबारे केही विज्ञहरूसँग पनि कुरा गरेका छौँ।
च्याटजीपीटी बन्यो ‘भाइरल हिट’
सुरु भएको केही सातामै च्याटजीपीटीका प्रयोगकर्ताको सङ्ख्या १० करोड नाघिसकेको छ।
“यो भाइरल हुनुको एउटा कारण के पनि हो भने जोसुकैले पनि वेब ब्राउजरबाट एआईको अनुभव गर्न पाउने भए। हामीले यससँग कुरा गर्छौँ र उसले पनि हामीसँग कुरा गर्छ,” अक्सफर्ड विश्वविद्यालयस्थित कम्प्युटर विज्ञानका प्राध्यापक माइकल वुल्ड्रिज च्याटजीपीटीबारे भन्छन्।
मानिसहरूले लेखेर सोध्ने प्रश्नको उत्तर दिने प्राकृतिक शैली, भाषण, कोडहरू, गीत र निबन्धहरू तयार गरिदिने क्षमताका कारण यसले प्रयोगकर्ताहरूलाई मोहित बनाएको छ।
लिङ्कहरू मात्रै नभएर विस्तारपूर्वक उत्तर दिने यसको क्षमताका कारण कतिपयले यसलाई ‘गुगल किलर’ को सङ्ज्ञा दिएका छन्। उनीहरूले च्याटजीपीटीले गुगललाई छायामा पारिदिन सक्ने ठानेका छन्।
माइक्रोसफ्टको ‘बिङ’ सर्च इन्जिनले आफ्नो प्रविधिमा क्रान्ति ल्याउन लागेको कुराले चुनौती महसुस गर्दै गुगलले पनि आफ्नो आर्टिफिशल इन्टेलिजन्समा परिस्कार गर्ने गर्ने घोषणा गरेको छ।
अनलाइन खोजीको सबैभन्दा विशाल कम्पनी गुगलका अनुसार च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न ‘बार्ड’ नामक च्याटबटको परीक्षण भइरहेको जनाएको छ।
आर्टिफिसिशल इन्टेलिजन्स के हो? च्याटबटले कसरी काम गर्छ?
हामीले एआई सहयोगीमार्फत् च्याटजीपीटीलाई च्याटबट के हो भनेर सोध्यौँ।
“प्रयोगकर्ता र च्याटबटबीच हुने कुराकानी मौलिक भाषाको शैलीमा आधारित हुन्छ,” उसले भन्यो।
सर्च इन्जिनमा समायोजन भइसकेपछि तिनले अनलाइनमा उत्तर खोज्दा हामीलाई फरकफरक तरिकाबाट नजिता दिन्छन्।
“वेबसाइटहरूको सूची दिनुको सट्टा एउटा यान्त्रिक प्रणालीले उक्त वेबसाइटभित्रै पुगेर त्यहाँ भएका सामग्रीको सारांश हामीलाई दिन्छ,” जुरिच विश्वविद्यालयका सहप्राध्यापक बेथ सिङ्लरले भनिन्।
“यो अरू कसैले पढेर तपाईँलाई सुनाए जस्तै हो।”
एआई मशीनले सिक्ने प्रणालीका कारण च्याटबटहरूले त्यसो गर्न सकेका हुन्।
एआई प्रविधिले कम्प्युटरलाई आफ्नो पहुँचमा रहेका सूचनाहरूका आधारमा सिक्न, सोच्न र त्यसैअनुरूप काम गर्न सक्षम बनाउँछ।
यसले आफ्नो गल्तीबाट “सिक्ने” र अर्को पटक त्यही काम गर्दा त्यसमा परिवर्तन ल्याउने गर्छ।
एआई च्याटबटहरू विशेषतः प्रश्नको उत्तर दिन र सूचना खोज्नका लागि तयार गरिएका हुन्छन्।
- गुगल सर्च: यो वर्ष खोजिएका विषयमा वर्डल, युक्रेन र जोनी डेप शीर्ष स्थानमा
- केही मानिसहरू इन्टरनेट चलाएर मात्रै पैसा कमाउँछन्
गुगलको बार्ड र माइक्रोसफ्टको च्याटजीपीटी दुवै भाषाको बृहत् नमुनाहरूमा आधारित छन् जसले ‘कम्प्युटर मस्तिष्क’मा रहेको ‘आर्किटेक्चर’को नक्कल गर्छन्।
भाषाका नमुनालाई इन्टरनेटबाट सूचना दिइन्छ र कसरी शब्दमा तत्कालै उत्तर दिने भनेर सिकाइन्छ।
“उनीहरूसँग भाषाहरूको ठूलो भण्डार हुन्छ र उनीहरूले शब्दहरूबीचको सम्बन्ध बनाउने प्रयास गर्छन्। उनीहरूले हाम्रो प्रश्नका आधारमा अर्को शब्द के हुनसक्छ भनेर बुझ्ने प्रयास गर्छन्,” सिङ्लर भन्छिन्।
बिङ र बार्ड च्याटबटले के गर्न सक्छन्?
“अब वेब सर्च धेरै ज्ञान भएको मानिससँग कुराकानी गरे जस्तो हुनेवाला छ। कहिलेकाहीँ यसले सही नतिजा नदिन पनि सक्छ,” प्राध्यापक बुल्ड्रिज भन्छन्।
एआईको प्रयोगबाट परिस्कृत बिङ र गुगलका सर्च इन्जिनहरू अझैसम्म सर्वसाधारणका लागि उपलब्ध भइसकेका छैनन्।
गुगलले बार्ड र माइक्रोसफ्टले नयाँ बिङ सुरु गर्ने तर्खर गर्दैगर्दा हामी सन् २०२१ सम्मका सूचनामा आधारित च्याटजीपीटी मात्रै सर्वसाधारणको पहुँचमा छ।
एआईजडित नयाँ बिङ प्रयोग गर्न चाहने व्यक्तिहरू ‘वेटिङ लिस्ट’ मा बसेर पालो पर्खिन सक्छन्।
बिङको एआईले खोजीका नतिजा मात्रै नदिएर आफ्नो च्याटबट विन्डोबाट खोजी नतिजाहरूको संश्लेषण गर्दै अप्ठ्यारा प्रश्नहरूको पनि उत्तर दिन सक्ने ठानिएको छ।
माइक्रोसफ्टका अनुसार प्रयोगकर्ताहरू च्याटबक्सको प्रयोग गरेर विङसँग अन्तर्क्रिया गर्न सक्छन्।