धेरै मानिस जम्मा हुने पूर्वाधारहरूको सुरक्षाका पक्षमा बेवास्ता गरियो भने कतिसम्म जोखिम हुन्छ भन्ने नमीठो उदाहरण २९ फागुन, २०४४ मा दशरथ रंगशालामा भएको दुर्घटना थियो । तर, ३५ वर्षपछि पनि हाम्रा सार्वजनिक पूर्वाधारहरू ‘नभइन्जेल केही हुन्न’ को अवस्थामा छन् ।
१४ माघ २०७९ साँझ धनकुटा नगरपालिका-६ स्थित तल्लो टुँडिखेलमा एभोकाडो एवं पाँचौं धनकुटा महोत्सवमा गायक प्रमोद खरेल ‘कन्सर्ट’ गर्दैथिए । तर, कार्यक्रम स्थलमा भीड यति बढ्यो कि गेटबाट भित्र प्रवेश गर्न खोजेकाहरू एकापसमा ठेलमठेल गर्न थाले । एकाएक भीड अनियन्त्रित भएर भागदौड मच्चियो । एकै छिनमा भीडले कुल्चिएर ३० व्यक्ति घाइते भए ।
कसैले पनि ज्यान गुमाउनु परेन, तर अझै दुई जना उपचारकै क्रममा अस्पतालमा छन् । घटनाबारे प्रारम्भिक अनुसन्धान गरेको जिल्ला प्रशासन कार्यालय, धनकुटाले ‘प्रक्षेपण गरिएभन्दा बढी व्यक्ति कार्यक्रममा आएपछि समयमै गेट नखुल्दा घटना हुन पुगेको’ निष्कर्ष निकालेको छ ।
‘भीड ठूलो थियो, ठेलमठेल भएपछि घटना भयो, गेट अर्को पनि थियो, तर भित्र स्टलहरूका कारण खाली ठाउँ धेरै नभएकाले घटना हुन पुग्योे’ धनकुटाकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डे भन्छिन्, ‘थप गेट र भित्र पर्याप्त स्पेस भएको भए घटना हुँदैनथ्यो ।’
‘मान्छेको सुरक्षा भनेको प्रहरी र प्रशासनले मात्रै दिने हैन, भौतिक संरचना पनि सुरक्षामैत्री हुनुपर्छ’ प्रमुख जिल्ला अधिकारी पाण्डेले भनिन्, ‘यो घटनाबाट सार्वजनिक पूर्वाधारहरूको प्रयोगमा सुरक्षा पक्षको व्यवस्थापन र ठूला मेला तथा कार्यक्रमहरूको आयोजना गर्दा अपनाउनुपर्ने सजगतामा ध्यान दिनुपर्ने पक्ष सबैले सिक्नुपर्छ ।’
हेटौंडामा चलिरहेको राष्ट्रिय औद्योगिक व्यापार मेला पनि २१ माघ २०७९ मा प्रवेश गेटमा ठूलो भीडभाड भएपछि केही मानिस बेहोश भए । भीडका कारण मेला भर्न आएका बालबालिका भीडमा हराएको गुनासो आएपछि आयोजकले स्टल नै हटाएर अर्को निकास दिनुपर्यो ।
यस्ता मेला, महोत्सवमा आयोजकले टिकट नकाटेका व्यक्ति छिर्नसक्ने भन्दै अस्थायी रूपमा समेत जस्तापाता प्रयोग गरेर भए पनि बारहरू लगाउने गरेका छन् । कुनै अप्रत्यासित घटना भएमा वा भागदौड मच्चिएमा ठूलो संख्या एकसाथ कसरी बाहिर निस्किन्छ भन्ने ख्याल नगरिकन यस्ता मेला आयोजना भइरहेका छन् ।
संगीत बाहेक, मोफसलमा आयोजना हुने फूटबल र क्रिकेट प्रतियोगिताहरू पनि व्यवस्थापनको दृष्टिले अर्को जोखिमको क्षेत्र भइरहेका छन् । त्यहाँ पनि दर्शकको चाप अनुसार भौतिक पूर्वाधारको व्यवस्थापन नगरिंदा दुर्घटनाको जोखिम उच्च छ ।
आफ्नो टिम हार्दा/जित्दा उत्तेजित हुने भीडले मैदानमा ढुंगा र बोतल फाल्नु मोफसलका फुटबल प्रतियोगिताहरूका लागि सामान्य जस्तो भएका छन् । यी मैदानहरूमा सुरक्षित तवरले पूर्वाधार तयार नगर्दा यस्ता प्रतियोगितामा सुरक्षा दिनु प्रहरीका लागि पनि चुनौतीपूर्ण हुँदै गएको छ ।
अझ पैसाको लोभमा मैदान र पूर्वाधारको उच्चतम क्षमता समेत विचार नगरी टिकट काटेर प्रवेश दिने चलनले जोखिम बढाउँदै लगेको छ । त्यसमाथि भीडका कारण हुनसक्ने सम्भावित दुर्घटनालाई ध्यानमा राखेर पर्याप्त आकस्मिक गेटहरू खुला राख्न कसैले ध्यान नै दिने गरेका छैनन् ।
नेपाल स्ट्रक्चरल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष तथा पुल्चोक इन्जिनियरिङ क्याम्पसका डा.राजन सुवाल खेलकुद र सार्वजनिक कार्यक्रम हुने मैदान र रंगशालाहरूको सुरक्षा पक्ष कमजोर देख्छन् । कुनै पनि बेला झै-झगडा, कुटपिट, भागदौड हुनसक्ने सम्भावना हेरेर मापदण्ड अनुसारका मैदानमा पर्खाल, गेट र अन्य पूर्वाधार बनाउनुपर्ने उनी बताउँछन् ।
‘अग्ला पर्खाल बनाउन हुँदैन, गेटहरू बनाएर मात्रै हुँदैन, भीड भित्र भएका बेला गेटहरू खुला पनि रहनुपर्छ’ उनी भन्छन्, ‘हाम्रामा मान्छेभित्र पठाएपछि गेट बन्द गर्ने चलन छ, त्यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।’
शहरहरूमा बनेका सार्वजनिक पार्क, फनपार्क र वाटर पार्कहरूमा पनि उस्तै समस्या छ । ठूलो संख्यामा बालबालिका समेत जम्मा हुने यस्ता पार्कहरूमा शनिबार र सार्वजनिक विदाको दिन ठूलो भीड लाग्छ । तर, यस्ता पार्कहरूमा जति संख्यामा व्यक्ति आए पनि पैसाको लोभमा छिराइदिने प्रवृत्तिले मनोरञ्जन गर्न गएकाहरूले सास्ती भोग्ने गरेका छन् । पार्कको फितलो व्यवस्थापनले धनकुटाको जस्तै दुर्घटनाको जोखिम निम्त्याइरहेको हुन्छ ।
एकसाथ धेरै मान्छे जम्मा हुने सार्वजनिक प्रयोगका पूर्वाधारहरूको सुरक्षा पक्षमा बेवास्ता गरियो भने कतिसम्म जोखिम हुन्छ भन्ने नमीठो उदाहरण २९ फागुन, २०४४ मा दशरथ रंगशालामा भएको दुर्घटनाले दिएको थियो ।
रंगशालामा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तियोद्धाबीच त्रिभुवन च्यालेन्ज शिल्डको फाइनल फुटबल खेल चलिरहँदा हावाहुन्डरी र असिनापानी आएपछि भएको भागदौडमा ९३ जनाको ज्यान गएको थियो ।
बाहिर निस्किन खोज्दा पर्याप्त गेट नपाएपछि यस्तो दुःखद् दुर्घटना भएसँगै तत्कालीन शिक्षामन्त्री केशरबहादुर बिष्टले नैतिकताको आधारमा राजीनामा दिएका थिए । सार्वजनिक पूर्वाधार बनाउँदा र त्यसलाई सञ्चालन गर्दा सुरक्षाको पक्षमा पर्याप्त ध्यान दिइएन भने कस्ता विघ्नहरू आइपर्न सक्छन् भन्ने यस्ता घटनाले छर्लङ्ग पारेका छन् ।
तत्कालीन अवस्थामा राजीनामा दिएका बिष्ट दशरथ रंगशालाको कहालीलाग्दो घटनापछि केही पक्षहरूमा सुधार भए पनि अझै धेरै पक्षमा सुधार जरूरी देख्छन् । ‘मान्छे जम्मा भएका बेला कुनै पनि समस्या परेमा १० सेकेन्डभित्रै ती ठाउँ सहजै खाली गर्ने योजना चाहिन्छ भन्ने पाठ सो घटनाले सिकायो’ उनी भन्छन्, ‘कार्यक्रमका दौरान गेटहरूमा ताल्चा ठोकेर राख्ने चलन अझै छ ।’
दशरथ रंगशालाको खेल हेर्न पुग्दा त्यो कहालीलाग्दो घटनाको साक्षी रहेका पूर्वसचिव किशोर थापा नेपालमा फेरि पनि त्यस्ता घटना जतिबेला पनि दोहोरिन सक्ने देख्छन् । भीड व्यवस्थापन गर्ने, केही अप्ठेरो परेमा सुरक्षित रूपमा निस्किने प्रबन्ध गर्ने लगायत पक्षमा ठूला मेला, कार्यक्रम र सभा सम्मेलन गर्नेहरूले खासै विचार नपुर्याउने उनको बुझाइ छ ।
‘दशरथ रंगशालाको विध्वंसक घटनाको साक्षी भएको हिसाबले पनि म भन्न सक्छु, हाम्रा सार्वजनिक पूर्वाधारहरू अझै पनि सुरक्षित तवरले बन्न र सञ्चालन हुनसकेका छैनन्’ उनी भन्छन्, ‘नीति र नियमको कमी छैन, कार्यान्वयनको तहमा समस्या छ ।’
मेला पर्वमा पनि समस्या
सार्वजनिक प्रयोगमा रहेका स्थानमा जम्मा हुने सर्वसाधारणको सुरक्षा हेलचेक्र्याइँ गर्नै नमिल्ने विषय हो । यो मूलतः राज्यको जिम्मेवारी भए पनि सम्बन्धित आयोजक/सञ्चालक/व्यवस्थापकहरू पनि यसमा जवाफदेही हुनुपर्छ । त्यसपछि यस्ता कार्यक्रमहरूमा पुग्ने व्यक्ति आफू पनि सजग हुनु जरूरी छ ।
काठमाडौंसहित देशभर नै हुने धार्मिक मेला, पर्व र सांस्कृतिक जात्रामा हुने भीडभाडको फितलो व्यवस्थापनले फेरि पनि गम्भीर दुर्घटना हाम्रा अगाडि छ भन्ने देखाउँछ । जस्तै भक्तपुरकै सबैभन्दा लामो बिस्केट जात्रामा सालैपिच्छे ढुंगामुढा भइरहन्छ । त्यस्तो समयमा भीड नियन्त्रण प्रहरीका लागि पनि क्षमता बाहिरको काम बन्न पुग्छ ।
२७ चैत, २०७२ मा जात्रामा हुलदंगा हुँदा ढुंगा हानाहान भयो, जसमा परेर स्थानीय ४५ वर्षीय लक्ष्मीप्रसाद त्यातको मृत्यु भएको थियो । ५ वैशाख २०७९ मा बिस्केट जात्रामै सूर्यविनायक नगरपालिका- ५ का ७१ वर्षका दुर्गामान कसपाललाई वंशगोपालतर्फ लैजाँदै गरेको रथले नासमाना चोकको एक घरको भित्तामा च्यापिदियो । उपचारका क्रममा भक्तपुर अस्पतालमा उनको ज्यान गयो ।
२८ जेठ २०७६ मा जाउलाखेलमा भोटो जात्रा हेर्ने क्रममा ३ जना व्यक्ति भीडमा चेपिएर बेहोश भएका थिए । यसरी जात्रा, मेला र पर्वहरूमा अनियन्त्रित रूपमा लाग्ने भीड र त्यसमा चेपिएर एकाध व्यक्तिहरू बेहोश हुनुलाई सामान्य मान्ने चलन नै भइसक्यो । विज्ञहरू भने यस्तो सोचले जहिलेसुकै समस्या ल्याउन सक्ने देख्छन् ।
धार्मिक तथा सांस्कृतिक कार्यहरूमा जम्मा हुने सर्वसाधारणलाई अपर्याप्त पूर्वाधार र फितलो व्यवस्थापनले पिरोल्ने गरेको छ । त्यसमाथि आकस्मिक रूपमा पर्न सक्ने समस्या सामना गर्ने योजनाको अभाव र धार्मिक स्थल तथा सम्पदाहरूको मर्मतसम्भारको अभावले पनि दुर्घटनाको जोखिम व्यक्ति आफैंले बोक्नु परिरहेको छ ।
१२ वैशाख २०७२ को विनाशकारी भूकम्पबाट काठमाडौंका दुई चर्चमा प्रार्थना गरिरहेका ७५ जनाको मृत्यु भएको घटनाले पनि यसलाई पुष्टि गर्छ । काठमाडौं महानगरपालिका-१५ सीतापाइलास्थित ठाडोभर्याङमा रहेको दर्शन मण्डली चर्चका ४८ जना र कपनको सरस्वतीनगरमा रहेको सुककोठ प्रार्थना भवनमा २७ जनाको मृत्यु भएको थियो । प्रार्थनाको समयमा भूकम्प आएपछि भागदौड हुँदा केही च्यापिएका थिए भने भवन ढल्दा थप व्यक्तिहरू हताहत हुन पुगेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
अहिले पनि धार्मिक स्थल र भित्री शहरका असन इन्द्रचोक, महाबौद्ध जस्ता बजारहरूमा दर्शनार्थी तथा बटुवाहरू जम्मा हुँदा हुनसक्ने दुर्घटनालाई ध्यानमा राखेर पूर्वाधारहरू बनाउने र व्यवस्थापन गर्नेतर्फ ध्यान दिइएको छैन ।
पूर्वमन्त्री बिष्ट अहिलेसम्म ठूला धार्मिक कार्यक्रम, धेरै मान्छे जम्मा हुने मेला र बजारहरूमा ठूला दुर्घटना नहुनुलाई सौभाग्य मान्छन् । ‘भीड व्यवस्थापन गर्न गोली बोकेर बसेका प्रहरीले सुरक्षा दिएका छन् भन्ने भ्रम मात्रै हो’ उनी भन्छन्, ‘यदि कुनै भागदौडको अवस्था आयो भने अहिले पनि मान्छेलाई जोगिन गाह्रो छ ।’
जोखिममा पुल
सार्वजनिक पूर्वाधारहरू सुरक्षित तवरले निर्माण नगर्दा र त्यसमा लाग्ने भीडलाई क्षमता अनुसार व्यवस्थापन नगर्दाका परिणाम के हुन्छन् भन्ने दरिलो उदाहरण हो- १० पुस, २०६४ मा सुर्खेतको शुभघाट मेलामा भएको दुर्घटना ।
ठूलो भीडका कारण झोलुङ्गे पुल भाँचिंदा २५ जनाको ज्यान गएको थियो । मेला भर्न आएका कैयौं दर्शनार्थी पुलसँगै भेरीमा खसेका थिए ।
सरकारले यसबाट पाठ सिकेर जोखिम मूल्यांकन गरेर पूर्वाधार बनाउने र भीडलाई नियन्त्रणमा राख्ने पाठ अहिले पनि सिकेको छैन । यही प्रयास नगर्दा गत वर्ष महाशिवरात्रि मेलामा पशुपतिनाथमा बागमती नदीमाथिको साँघुरो पुलको बार भत्किंदा केही व्यक्ति नदीमा खसेका थिए ।
माघेसंक्रान्तिमा चितवन र तनहुँ जोड्ने त्रिशूली नदीमाथि देवघाटको पुलमा लाग्ने भीडले यात्रु स्वयंलाई झस्काउँछ । भक्तपुरको सूर्यविनायकको साँगामा रहेको झोलुङ्गे पुलमा आजकल प्रत्येकजसो शनिबार लाग्ने भीडले स्थानीयहरूलाई तर्साउँछ । पुलमा थेगिनसक्नु भीड जम्मा हुँदा पुलको भारवहन क्षमताबारे कसैले चासो दिने गरेका छैनन् ।
अझ कतिपय मोटर गुड्ने पुलहरू नै यस्तो सुरक्षा चुनौती भोगिरहेका छन् । बन्दाबन्दै गुणस्तरहीन ठहर भएपछि सडक विभागले टेकुमा विष्णुमती नदीमाथि बनाएको पुल प्रयोग गरेको छैन । ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनले मापदण्ड र डिजाइन विपरीत पुल तयार गरेपछि सडक विभागले ठेकेदारबाट पुल बुझ्न मानेको छैन । अहिले पर्खाल लगाएर पुलमा सवारी आवतजावत रोकिएको मात्रै छ ।
तर, सोही पुलसँगैको अर्को पुरानो पुल जाम हुँदा थुप्रै सवारी साधन थेगेर बसेको छ । काठमाडौंमा सडक विस्तार पछि धेरै पुल यसैगरी ‘बोटल नेक’ बनेका छन् । जहाँ गाडीको लामो जाम हुन्छ । पुराना पुलहरूमा यसरी एकैपटक धेरै सवारी जम्मा हुँदा पनि जोखिम हुनसक्ने विज्ञहरू बताउँछन् । प्रा.डा.सुवाल एउटा तहको भारवहन क्षमता थेग्ने गरी बनेका पूर्वाधारमा त्योभन्दा बढी भार परिरहे भूकम्प जस्ता विपत्का बेला दुर्घटना हुनसक्ने ठान्छन् ।
देशभर नै घाट र धार्मिक स्थल वरपर बनेका पुलहरूमा कुनै कार्यक्रम र मेला विशेषमा मान्छे र सवारीको चाप उच्च हुने गर्छन् । तर, ती पुलको भारवहन क्षमता जाँच्न र त्यसअनुसार व्यवस्थापन गर्न चासो दिइएको छैन । २०७८ पुसमा एमालेको १०औं महाधिवेशन हुँदा नारायणगढको नारायणी नदीको पुलमाथि मानव सागर हिंडेपछि सार्वजनिक रूपमै चिन्ता व्यक्त भएको थियो ।
राजमार्गमा कैयौं जीर्ण र पुराना पुल छन् । सडक विभागले आवधिक रूपमा मर्मत गरेर काम चलाइरहेका पुलहरू ठूलो भूकम्प र बाढीको जोखिममा छन् । दैनिक हजारौं सवारी आवतजावत गर्ने पुल मात्रै हैन सार्वजनिक प्रयोगका राजमार्गदेखि सडकमार्गहरूसम्म असुरक्षित छन् ।
धेरै भीड हुने सरकारी कार्यालयहरूमा पनि घटना हुनासाथ भवन खाली गर्ने गरी पूर्वाधार तयार छैन । ठूलो भीड लाग्ने गुर्जुधारा, चाबहिल, सानोभर्याङलगायत यातायात कार्यालयहरू नै भाडा खोजेर आवासीय भवनमा बसेका छन्, जहाँ मान्छेको थेगिनसक्नु भीड हुन्छ ।
पूर्वसचिव थापाका अनुसार विपत्तिसँग जुध्ने योजना नहुँदा असुरक्षित पूर्वाधारमा बसेका विद्यालयदेखि कार्यालयहरूसम्म ‘नभइन्जेल केही हुन्न’ भन्ने मान्यताबाटै चलिरहेका छन् । ‘धेरै मान्छे जम्मा हुने आवासीय प्रयोजनका साँघुरा घरमा जतिबेला पनि समस्या पर्न सक्छ’, उनी भन्छन् ।