![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
सर्लाही। प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल विविधताको दृष्टिले विश्वको उच्च कोटिको देश भएको बताएका छन्।शनिबार सर्लाहीको बागमतीमा आयोजित शैक्षिक महोत्सवलाई सम्बोधन गर्दै उनले विविधतालाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिए।
‘नेपालभित्र राष्ट्रिय एकता कायम गर्नु भनेको सबै संस्कृति, भाषाभाषी, जाति र धर्मलाई एउटै सूत्रमा बाँधेर राख्नु हो।’ उनले भने ‘सबैको पहिचान र सबैको अधिकारलाई समान रुपले स्थापित गर्नुपर्छ।’
उनले राष्ट्रिय एकतालाई सुदृढ गर्न यो अत्यावश्यक भएको बताए। ‘कुनै एक जात विशेष वा भाषा विशेषमा मात्र राज्य चलाउन खोज्नु भनेको लोकतन्त्र होइन, निरंकुशतन्त्र भएको दुई सय पचास वर्षको इतिहासले राम्ररी प्रमाणित गरिसकेको छ।’ प्रधानमन्त्री दाहालले भने।
शैक्षिक मेलामा करिब तीन हजार विद्यार्थीले सातै प्रदेशको सांस्कृतिक विविधतासहितको झाँकी प्रस्तुत गरेका थिए। झाँकीको प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय एकताको सन्देश दिने काम भएको बताए।
प्रधानमन्त्री दाहालले बागमती नगरपालिकाका नगर प्रमुख भरत थापाको कामको पनि प्रशंसा गर्दै बागमती नगरपालिकालाई देशमा पहिचान गराएको उल्लेख गरे।
सर्लाहीको बागमती नगरपालिकाले तीन हजार विद्यार्थी र करिब पन्ध्र हजार अभिभावकलाई एक दिवसीय शैक्षिक मेलामा बोलाएको थियो। बालबालिकाले गरेको प्रस्तुतिको सबैले प्रशंसा गरेका थिए।
![](https://khabarpostonline.com/wp-content/uploads/2024/02/ad-Haldi-1536x474-1-1024x316.jpg)
![](https://khabarpostonline.com/wp-content/uploads/2024/01/khabarad-1.gif)