नयाँ बानेश्वर स्थित संसद् भवनमा लघुवित्तका ऋणीहरू प्रवेश गरेको घटनाबारे छलफल गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा प्रमुखहरूलाई सिंहदरबारमा बोलाएका छन् ।
तीनवटै सुरक्षा निकायका प्रमुखहरू र गृहमन्त्री श्रेष्ठबिच साँझ गृह मन्त्रालयमा छलफल भइरहेको छ । बैठकमा नेपाल प्रहरीका आईजीपी वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी छन् ।
उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापा र काठमाडौँका प्रमुख जिल्ला अधिकारी पनि बैठकमा सहभागी छन् ।सुरक्षा प्रमुखहरूले संसद् भवन परिसरमा लघुवित्तका ऋणीहरू प्रवेश गरेकोबारे ‘ब्रिफिङ’ गरिरहेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए।
सो घटना छानबिन गर्न उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ।