सत्ताको नयाँ समीकरणबारे टिप्पणी: ६ बुँदागत भनाइ
१) स्वाभाविक –
गठबन्धनका मुख्य शक्तिका नेताजीहरूबीच देश बनाउनेभन्दा पनि सत्ता टिकाउने-सिध्याउने खेलको प्राथमिकतामा प्रतिक्रियावादी, भ्रष्टाचारी र सामन्ती चरित्रको पकड बलियो बन्दै गएकोमा त्यसलाई भत्काउन आवश्यक थियो, केहीबेरका लागि भत्कियो!
२) अप्रत्याशित –
गठबन्धनका शक्तिहरूबीच आफू सुरक्षित रहन कसले कसलाई पहिले पाखा लगाउने भन्ने आशंका बढ्दै जाँदा प्रधानमन्त्री प्रचण्डले फेरि पनि आफूलाई सबैभन्दा ‘चतुरो’ खेलाडी सिद्ध गरेको अवस्था ।
३) अविश्वास झाँगियो –
मुख्य पात्रका बीचमा केवल फाइदा-बेफाइदाको हिसाबले प्राथमिकता पायो। सबैभन्दा ठूलो दल भएर पनि दोस्रोपटक नेपाली कांग्रेस जिल्लियो। यसले सत्तामा विश्वासको वातावरण शून्य बनाएको छ। नयाँ समीकरणको आयु पनि सहमतिअनुसार सहजरूपमा बढ्नेमा उनीहरू आफैं विश्वस्त हुने छैनन् र “धोका दिने खेल”मा कांग्रेसीहरू बदलाको खोजिमा लागिरहने छन् ।
४) जनअपेक्षित नहुने –
जसले जेसुकै दाबी गरे पनि यो सत्ता समीकरणले जादूको छडी बोक्दैन, त्यसकारण बढो उत्साहित बनेर तुरुन्तै निराश नहुन सचेत हुने समय यो हो ।
५) जे भयो राम्रै भयो ! –
अहिलेसम्मको सरकारमा संलग्न केही मन्त्रीहरूले देखाएको “भ्रष्ट” प्रवृत्ति, यथास्थितिवादी मनोवृत्ति र अराजक चरित्रबाट देशले उन्मुक्ति पाउनुपर्थ्यो, पायो । र आशा गरौँ, थोरै भए पनि देश प्रगति, विकास र नैतिक चरित्रको राजनीतितर्फ अघिबढ्ने छ।
६) निस्कर्ष: धैर्यवान र आशावादी हुनुपर्ने –
देश र जनताको पक्षमा न्यायोचित सेवाको वितरण, विकास र चरित्रद्वारा प्रेरित नेतृत्व पाउन देशले अझै पर्खनुपर्नेछ। र, त्यो नेतृत्व तपाईंबाट प्रदर्शन हुनुपर्छ । त्यसकारण जहिल्यै अरूको आलोचना गरेर दिन नकटाउनुहोस्, बरू आफ्नो ठाउँमा एउटा बैकल्पिक नेतृत्व स्थापित गर्नुहोस्, जसले न्याय, स्वतन्त्रता र शान्तिपूर्ण प्रगतिको मार्ग तय गर्छ, जसले विधिपरायण बनेर अनुशासन कायम राख्छ, जसले साँचो राष्ट्रप्रेममा देशको निस्वार्थ सेवा गर्न आफूलाई समर्पित गर्छ।