मेचीनगर । मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको चौथो अधिवेशन बुधबारबाट शुरु भएको छ । मेचीनगर नगरपालिकाको सभाहलमा शुरु अधिवेशनको उद्घाटन कार्यक्रमका अध्यक्ष नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।
नगरसभाको उद्घाटन अवसरमा नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले अधिवेशनमा विनियोजन ऐन, २०८० लाई संशोधन गर्न बनेको विधेयक, २०८० तथा प्रगति प्रतिवेदन प्रस्तुत गरे । मेचीनगरकोे दोस्रो नगरसभाको तेस्रो अधिवेशनबाट चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि कुल १ अर्ब ३५ करोड ८९ लाख ६० हजार ५ सय ५५ रुपैयाँको आय–व्यय सहितको बजेट, नीति तथा कार्यक्रम स्वीकृत भएको थियो । हालसम्मको वित्तिय प्रगति विनियोजनतर्फ चालु खर्च ८३ करोड ८७ लाख ६४ हजार ५२ रुपैयाँ २४ पैसा, पूजीँगत खर्च ५१ करोड ७६ लाख ९६ हजार ५ सय २ रुपैयाँ ७६ पैसा तथा वित्तिय व्यवस्थातर्फ २५ लाख रुपैयाँ रहेको उपप्रमुख उप्रेतीले जानकारी गराइन् ।
यसैगरी, हालसम्मको ‐वित्तिय व्यवस्था सहितको) खर्चतर्फ चालु खर्चतर्फ ३५ करोड ८५ लाख ६० हजार १ सय ६५ रुपैयाँ शुन्य ९ पैसा तथा पूजीँगत खर्चतर्फ १० करोड २४ लाख ७८ हजार ९ सय ११ रुपैयाँको आर्थिक प्रतिवेदन उपप्रमुख उप्रेती नगरसभामा प्रस्तुत गरिन् । यसरी हेर्दा कूल वित्तिय प्रगति प्रतिशतमा ३३ दशमलव ९२ प्रतिशत देखिन्छ । विनियोजनतर्फको कुल रकम १ अर्ब ३५ करोड ८९ लाख ६० हजार ५ सय ५५ रुपैयाँ र खर्च भएको रकम ४६ करोड १० लाख३९ हजार ७६ रुपैयाँ १४ पैसा घटाउँदा मौज्दात (बाकी) रकम ८९ करोड ७९ लाख २१ हजार ४ सय ७८ रुपैयाँ ८६ पैसा रहेको छ ।
आन्तरिक राजस्वको हालसम्मको अनुमान र वास्तविक आय अनुमानित आयतर्फ ः १२ करोड ८७ लाख रुपैयाँ र हालसम्मको वास्तविक आय ८ करोड ३९ लाख २८ हजार ४ सय ८२ रुपैयाँ वा ६५ दशमलव २१ प्रतिशत रहेको छ । कार्यालयको क्षेत्र÷उपक्षेत्र अन्तर्गत आर्थिक विकाश शाखातर्फ वार्षिक बजेट ७ करोड ५ लाख ६७ हजार ६ सय ६९ रुपैयाँ ९३ पैसा मध्ये ७६ लाख ७५ करोड ७ सय १६ रुपैयाँ वा १० दशमलव ८८ प्रतिशत खर्च भई ६ करोड २८ लाख ९१ हजार ९ सय ५३ रुपैयाँ ९३ पैसा मौज्दात रहेको छ । सवैभन्दा बढी कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ कुल बजेटको ५० दशमलव शुन्य ५ प्रतिशत खर्च भएको छ । यस शीर्षकमा २७ करोड १३ लाख ४ हजार ५२ रुपैयाँ २४ पैसा बजेट विनियोजन गरिएकोमा १३ करोड ५७ लाख ९२ हजार २ सय ६४ रुपैयाँ शुन्य ७ पैसा खर्च भएको छ ।
यसैगरी, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा यो अवधिमा कुल ११ लाख ४० हजार १ सय २० रुपैयाँ वा ५ दशमलव ११ प्रतिशतमात्र खर्च भई २ करोड ११ लाख ५६ हजार ८ सय ८० रुपैयाँ मौज्दात रहेको यस नगरसभामा जानकारी गराइयो । चालु आर्थिक २०८०÷०८१ का सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा कुल २ करोड २२ लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको थियो । उर्जातर्फ सम्पदा पूर्वाधार, विज्ञान तर्फ प्रविधिमा ७० लाख ५७ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा १५ लाख ३८ हजार ५ सय ९२ रुपैयाँ वा २१ दशमलव ८ प्रतिशत मात्र खर्च भएको छ भने, ५५ लाख १८ हजार ४ सय ८ रुपैयाँ नगद मौज्दात रहेको छ ।
सामाजिक विकासतर्फ चालु आर्थिक वर्षको आठमहिने अवधिमा २१ करोड ९९ लाख १३ हजार ७ सय ९३ रुपैयाँ शुन्य २ पैसा खर्च भएको छ । कुल बजेट ५५ करोड २१ लाख ३४ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा अब खर्च भएको रकम घटाउँदा ३३ करोड २२ लाख २० हजार २ सय ६ रुपैयाँ ९८ पैसा मौज्दात बाँकी रकम रहेको छ ।
प्रमुख प्रशासकीय अधिकृत तथा नगर सभाका सचिव अग्निप्रसाद अधिकारीले अधिवेशनका विषयमा सहभागी नगर सदस्यहरुलाई जानकारी गराएका थिए ।
आगामी चैत ७ गते पुनः बैठक बस्ने गरी बुधबारको सभा स्थगन गरिएको नगर प्रमुख तथा सभाका अध्यक्ष गोपालचन्द्र बुढाथोकीले जानकारी गराए ।