२६ चैत्र २०७९, आईतवार,
झापा । विश्वभरका इसाई धर्मावलम्बीले आज इस्टर सन्डे मनाएका छन् । इस्टर सन्डेको अवसरमा आज राजधानी काठमाडौँमा भव्य र्यालीको आयोजना गरिएको छ ।
समारोहमा एनसीएफ नेपालका अध्यक्ष रेभ पास्टर हनोक तामाङ र क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर मंगलमान मर्हजनले इस्टर केन्द्रित वचन वाँडेका थिए ।
उपत्यकाको विभिन्न ठाउँबाट सुरु भएको र्याली भृकुटीमण्डप पुगेर कार्यक्रममा परिणत भएको थियो । इसाई धर्मगुरु येशूलाई क्रसमा चढाइएको ३ दिनमा उनी पुनरुत्थान भएको भन्ने विश्वासका साथ इस्टर सन्डे मनाइन्छ ।
बाइबलमा उल्लेख भए अनुसार दुई हजार वर्ष पहिला शुक्रवारको दिन येशूलाई कलभरी डाँडाको खप्परे भन्ने ठाँउमा सारा मानवजातिहरुको उद्धार मुक्तिका निम्ति क्रसमा बलिदान भएको थियो र त्यसको तेस्रो दिनमा उनी पुनरुत्थान भएका थिए र त्यस दिन आइतबार परेको थियो ।
इस्टर सन्डेलाई येशूको पुनरुत्थान भएको दिनको सम्झनामा हर्षउल्लासकासाथ उत्सवको रूपमा पनि लिने गरिन्छ । यसरी इस्टर सन्डेमा पुनरुत्थान भएका येशू ४० दिनसम्म आफ्ना चेलाहरुसंग रहेर स्वर्गमा उक्लनुभएको बाइबलमा उल्लेख छ ।