–होमराज राई,
२६ चैत्र २०७९, आईतवार,
वास्तबमा चुम्वन भन्ने वित्तिकै प्रेमको प्रस्फुटित बाहिरी चिन्ह हो । प्राय हामी देख्छौं साना नानीहरुलाई सबैले चुम्बन गरेर माया गर्छन् र आफ्ना प्रेमी–प्रेमीका धेरै समयपछि जब भेट हुन्छ, तब अंगालोमा बाँधिएर आफ्नो भित्रि हृदयबाट प्रफुल्लित भएर एकअर्कामा चुम्बन गरी प्रेम प्रकट गर्छन् ।
जब केटाकेटीहरु एकअर्कामा मन पराउन थाल्छन् तब मुस्कुराउन शुरु गर्छन्, अनि त्यहाँ जीवनको अर्काे यात्रा शुरु हुन्छ । मिठो स्वरले बोल्ने र लजालु आँखाले हेर्ने जस्ता माया प्रेमका शुरुवातहरु हुन् । यतिबेला चुम्बन प्रवेश गरीसकेको हुँदैनन् उनीहरुमा । जब चुम्बन प्रवेशिन्छ तब मात्र उनीहरुमा प्रेमको गहिराइमा पुगिसकेका हुन्छन् । यो स्थानमा आएका प्रेमी–प्रेमीकाहरुले संसारका सबै धन– दौलतहरु, जन्म दिने आमा बाबु र साथीसंगी सबैभन्दा उनीहरु एकअर्कामा महत्वपूर्ण सम्झन्छन् । त्यसैले उनीहरुले सबै कुरा विर्सिएर एकअर्कामा ज्यान समेत दिन सक्ने कसम खान्छन् । एक दिनको कुरा हो । श्याम र नितु एकअर्कामा असाध्यै माया गर्थे । त्यो पीपलु डाँडामा बसेर मायाका बन्धनहरु कस्थे । नितुले बेला–बेलामा भन्ने गर्थी, “श्याम जी– श्याम जी ,मलाई कहिले तपाईको घरमा लानुहुन्छ ? हामी कतिञ्जेल यसरी आमा बाबा र गाउँ छिमेकीहरुसंग लुकेर बस्ने ? म तपाईको घर छिट्टै जान चाहन्छु र तपाईको अंगालोमा खुल्लम खुल्ला बाँधिएर बस्न चाहान्छु । तपाई बिना एकदिन पनि एक महिना जस्तो लाग्न थाल्यो” ।
दुबै जनाको मोहित आँखाहरु रसिन्छ । नितुको कुरा सुनेर श्यामले अंगालोमा बाँधेर कालो सिल्कि परेको केश सुम्सुम्याउन थाल्छ । दुवैजनाकै शरीरमा प्रेमका करेन्टहरु बहन थाल्छ । नशा–नशामा रगतहरु सल्बनाउन लाग्छ , प्रेमका चुम्बनहरु शुरु हुन्छ । केही समयपछि श्यामले भन्छ–नीतु, धैर्य गर, म पनि त तिमीबिना एक्लो छु । तिमीबिना म एकपल पनि बाँच्न सक्दिन, मैले पनि तिमीलाई घरमा छिट्टै भित्र्याउन हरेक कुराहरु मिलाइरहेको छु । जब म तिमीलाई घरमा लान्छु केही कुराको अभाव तिमीलाई नहोस् भनेर यो सब ढिलो हुन गएको हो, तर अब छिट्टै पुरा हुन्छ भनी मिठास स्वरमा बताउँछ श्यामले । यसरी नै दुई जोडीका यात्राहरु चलिरहे, सुन्दर संसारको कल्पनाभित्र ती बबुराहरुले ठूलो सपनाहरु बोकेर कर्मचित्रहरु कोर्दै थिए, खै, कस्तो विडम्वना वा भाग्यको खेल भनौं या के भनांै ? त्यो रातको समय थियो । नितु ओछ्यानमा पल्टिएर लडिबडी गर्थी, निद्रा लाग्दैन उनीलाई । टेवलमा राखिएको श्यामको सुन्दर तस्विर सुम्सुम्याउन पुग्छिन् र त्यही तस्विरलाई चुम्बन गर्छिन र ती तस्विरसंग आफ्ना मनका भावनाहरु पोख्छिन्, न भोक नै लाग्छ, न निद्रा नै । अब प्रेम शब्दहरु कोर्न शुरु गर्छिन । धेरैबेरसम्म पनि नसुतेकाले आमाले कोठैबाट हैन, ए– ‘नीतु’ आधा रात बितिसक्यो के तमासा देखाउँदैछस् हँ ? “अहिले रातभर नसुत् अनि भोली बिहानभरी सुतिराख् म ओछ्यानमा लाठी लिएर आउँछु ।” नितुले ठाडै जवाफ दिई “ल–ल म सुँते !” नितु ओछ्यानमा पल्टिन्छे अझै निद्रा लाग्दैन, श्यामले पठाएको पत्र सुती– सुती नै पढ्न थाली । त्यती बेला रातको साढे दुई बजिसकेको थियो । जीन्दगीका आफ्ना आशाका थाकहरु थुपार्दै ओछ्योनमा पल्टिरहेकै बेला भुसुक्क निदाई ।
बिहानपख खै कसरी हो, नीतुको घरबाट आगोका कालो मुस्लोहरु निस्कन थाल्छ । नीतुको आमा बाबुको कोठामा ओगोका रापहरुले भेट्न थालेपछि तर्सिएर उठ्दा चारैतिर आगो दन्किसकेको हुन्छ र नीतुको आमा बाबाले– लौ, आगो लाग्यो गुहार.. ! गुहार.. ! बचाउनुहोस् भन्दै बाहिर निस्कन्छन् । गाउँलेहरुले नीतुको घरमा आगो लागेको देखेर सबै गाउँलेहरु कराउँदै दर्गुछन् । श्याम पनि नीतुको यादमा धेरै रात वितिसके पछि सुतेकाले मस्त निद्रामा नीतुको घरमा आगो लागेको आवाज सुन्छ । अरे नीतुको घरमा आगो लाग्यो अरे ? भन्दै नीतुको घरतीर हेर्छ त घर आगोले चारैतिर दन्किरहेको देखेर श्याम पनि ए, ‘नितु .. !’ ए, ‘नितु.. !’ भन्दै दौडन्छ । त्यहाँ पुग्ने वित्तिकै खै नितु …? खै मेरो नितु… ? भन्दै सोध्छ । त्यो आगोको भयंकर ज्वालाभित्र ए, ‘श्याम जी’ मलाई बचाउनुहोस् म बाँच्न चाहन्छु भनी चिच्याइरहेको अवस्थामा श्यामले पाउँछ । ती दर्दनाक ज्वाला भीत्रका चित्कार सुन्ने वित्तिकै श्यामलाई सहनै नसक्ने भयो र मेरी प्राण भन्दा प्यारी नीतु भन्दै श्याम आगोमा हाम्फाल्न पुग्छ गाउँलेहरुले उसलाई रोक्न खोज्छन् अब जान सकिदैन श्याम बाबु ,आगो धेरै ठूलो अवस्थामा छ भन्दापनि श्याम मान्न तयार हुँदैन, अब तपाईहरुले रोक् सक्नुहुन्न मरे हामी दुवैजना एकैसाथ मर्छाै भन्दै त्यो आगोको लप्काहरुसंग बह्रिदै नीतुलाई बचाउँन पस्छ ,बेहोस अवस्थामा हुन्छे तर उनको शरीरमा आगोले भेटिसकको हुँदैन । श्यामले प्रेमको कोमल स्पर्शले चुम्बन गरी आफ्नो अंगालोमा बाँधेर नीतुलाई सुरक्षित निकाल्छ । नीतुलाई बाहिर ल्याएपछि श्याम प्रमुग्ध भई ढल्छ । गाउँलेहरुले एम्बुलेन्स बोलाएर दुवैजनालाई अस्पताल पु¥याउँछन् र नितु दुई तीन दिनमै ठीक हुन्छे तर श्यामको भने हप्ता दश दिन पछिमात्र होस खुल्छ र तीन महिना पछि श्याम निको भई आफ्नो घर फर्कन्छ ।
विचरो,श्यामको सुन्दर गहुँगोरो चेहरा सुहाउँदिलो शरीर तर अहिले हेर्दा प्रत्याङ्ग आगोले जलेर कसैले पनि श्याम हो भन्न सक्ने प्रतिरुप छैन उसको । श्याम घरमा आएको सुनेपछि नितु रुदै श्यामलाई भेट्न आउँछिन् र श्यामको कोठाको ढोका अर्धबन्द थियो । नितुको मुटु जोडसंग धड्कन दिइरहेको थियो । ढोकाबाट लजालु प्रेमका आँखाहरु भित्र निहार्छिन् । श्याम ओछ्यानमा कोल्टे परेर त्यो स्याल्मे डाँडाको मुन्तिरको सुन्दर चौरमा खिँचेका जोडी तस्विर हेर्दै मुसुमुसु हाँसी रहेको हुन्छ । नितु पछि लुकेर ढोका ढक….ढक….. पार्छे । श्याम भित्रबाट मधुर स्वरमा को हो ? भित्रै आए हुन्छ । तर भित्र आउने अनुमती दिँदा पनि कसैको प्रवेश नहुँदा केटाकेटी पो हो की भनी बाहिर निस्केर हेर्छ त नितु पो ढोका छेउको भित्तामा टाँसिएर उभिरहेकी हुन्छे । “ए”, नितु पो किन भित्र नआएको लाटी ! नितु मुस्कान पोख्दै भित्र पस्छे र नितु श्यामको अंगालोमा बाँधिन्छे र रुदै मलाई माफ गर्नुहोस्, श्याम जी । मलाई बचाउन तपाईको सुन्दरता पनि गुमाउनु भयो र आफ्नो प्राणसम्म पनि दिन तयार हुनुभयो । मलाई थाहा छ, तपाईले मलाई अति नै प्रेम गर्नुहुन्छ । त्यो अमूल्य प्रेमको मोल म तिर्न सक्दिन । श्यामले नितुलाई प्रेमको अंगालोमा कस्छ र दुवैजनाको आँखाको घुम्टोभित्रबाट आँसुका अविरल फोहोराहरु बर्सिन्छन् । श्यामले भन्छ – धत् लाटी, तिमीले के भनेकी ? म तिमीलाई यति माया गर्छु – चाहे मेरो सुन्दरता नै किन नगुमोस् न, हात खुट्टा नै किन नगुमोस्, तर म तिमीलाई गुमाउन सक्दिन । म तिम्रो निम्ति आफ्नो प्राण समेत गुमाउन पछि पर्दिन । नितुले म झन तपाईभन्दा कम माया गर्दिन्, म तपाईको हरेक दुःख– सुखमा साथ दिन्छु भनी विश्वास दिलाउँछिन् ।
यसरी नितु श्यामको घरमा भेट्न गइरहन्थी । साथीहरुले नितुलाई सधै श्यामको घरमा गएको देखेर छुटाउन हरेक कुराहरु गर्न थाल्छिन् । नितुको आमालाई “हेर्नुस्, आन्टी तपाईको छोरी नितु सधै श्यामलाई भेट्न जान्छिन्, के , श्यामलाई तपाईले ज्वाँई भन्न सुहाउँछ ? तपाईको छोरी कति सुन्दरी छे, अनि कुरुप श्यामसंग हिड्दा जोडी मिल्छ ? त्यो श्यामलाई नितुको खुट्टामा झुण्डाउँन समेत सुहाउँदैन । त्यस कुराले नितुको आमालाई पनि चित्त बुझ्छ र भन्छिन् हो– हो नानी हो, मेरी छोरीसँग जोडी सुहाउँदैन । अब म छोरीलाई राम्ररी सम्झाउनेछु । तिमीहरुले सही बाटो देखाईदिएकोमा धन्यवाद नानी, म आजैदेखि छोरी र श्यामको भेट हुन दिने छैन । र तिमीहरुले पनि सम्झाई दिनु ल ! आमाले छोरीलाई सम्झाउँन थाल्छि– “ नितु , तिमी यति सुन्दरी छौं, त्यो कुरुप केटासंग नै विहे गर्छाै त ? हेर नितु तिमीहरुको जोडी सुहाउँदैन, तिमीलाई त सुन्दर, हेन्सम केटाले मन पराएको छ । उसंग विहे ग¥यौं भने सा¥है जोडी मिल्छ र साथीहरुले पनि सुहाउँदैन भनिरहेछ ।” नितुले फटाफट उत्तर दिई – “तपाईहरु जेसुकै भन्नुहोस् म श्यामलाई छाड्ने छैन, सुहाओस् या नसुहाओस् उनले मलाई मृत्युबाट बचाउनु भयो । त्यसैले तपाईहरु यस्तो कुरा नगर्नुहोस् उ बाहेक अरु मेरो कोहि छैन ” भनि आफ्नो बाटो लाग्छिन् । नितु बेलुका घरमा आएपछि आमाले फेरि साथीहरुले भनेको कुरा नै दोहो¥याउँछिन् । नितुलाई सा¥है रिस उठ्छ, म त्यतिखेरै जलेर मरेको भए ढुक्क हुन्थ्यो, श्यामले आफू जलेर पनि मलाई बचाउनु भयो, ऊ नभए तपाईहरुको आँट थियो मलाई बचाउँने ? तपाईहरु किन बुझ्नुहुन्न ? नितु कोठामा ढोका बन्द गरी आफ्नो ओछ्यानमा पल्टेर विभिन्न कुराहरु खेलाउँछिन् । नितुलाई रातदिनको किचकिचले सा¥है सताउन थाल्यो । साथीहरु र आमाले भनेको कुरा सोच्दा पनि ठीकै लाग्न थाल्छ । किनकी अरु साथीहरुको केटाहरु हेन्सम जोडी मिल्ने होला, शहर बजारमासंगै हिँड्दा चखेवाको जोडी जस्तो देखिएला तर मेरो भने कुरुप छ । नितुलाई निद्रा नै लाग्दैन मनमा धेरै कुराहरु खेलाई रहन्छे । फेरि अर्काे मनले यसरी भन्छ – श्यामले मलाई आगोबाट नझिकेको भए अहिले मेरो शरीर खरानी भएर हावामा विलाउने थियो । म सोच्नै सक्दिन म कसरी धोखा दिउँ उहाँको प्रेमलाई । फेरि नीतु–श्याम जी, म प्रेमको ऋणी भएको छु, भनि चिच्याउछे, धुरुधुरु रुन्छे, ओछ्यानमा लडीबडी गर्छे, म तपाईलाई कदापी भुल्न सक्दिन भन्दै आफै बाचा गर्छिन । तर साथीहरु र आमाको एकोहोरो भावनात्मक विचारहरुले केही महिनापछि नितुको जीन्दगीका मोजमस्तीका कुरा फुर्न थाल्छ । आज अरुको जोडी कति सुहाएको छ । तर श्यामसंग विहे गरे भने सबै साथीभाईहरुले खिल्ली उडाउनेछन्, भन्नेछन् के तपाईले केटा नै पाउनुभएन ? यसरी प्रश्नै प्रश्नले मनभरी तछाडमछाड गरीरहन्छ । एकपटक विहे गर्नुपर्ने जीन्दगीमा किन भनेजस्ता केटासंग नर्गनु ? अब नितुको सोच परिर्वतन हुन्छ । श्यामको कोठामा भने जान छाडी ।
अब श्याम भने– नितुको सम्झनामा सुख्खा बगरमा छटपटाएको माछा झै भएको छ श्यामलाई । कतै नितुलाई देखिन्छ कि भनेर घर को कौशीबाट यताउती आशालु नजरहरु लगाउछ तर कतै पाउँदैन । आँखाको घुम्टोभित्रबाट आँसुका थोपाहरु चुहाउँदै आफ्नो रित्तो आशाहरु बोकी कोठाभित्र भित्रिन्छ । यसरी श्याम मानसिक चिन्ताले झन ग्रसित बन्दै जान्छ । धेरै दिनपछि नितु आउनुको सट्टा एउटा पत्र श्यामको हातमा पर्छ । ती ज्वलन्त शरीरमा असिम आनन्दले शितल प्रवेष गर्दछ पत्र हातमा पाउँदा , उनमा हर्षको सिमा छैन यतिखेर । पत्र खोल्नुभन्दा पहिले आँखा चिम्लेर त्यस पत्रलाई सात पटक चुम्बन गर्छ श्यामले । त्यसपछि मात्र विस्तारै पत्र खोल्छ । पानाको माथिको भागमा नै ठूलो अक्षरले यो जीवनको अन्तिम तथा विदाई पत्र भनेर लेखिएको देख्नसाथ विहोस् भई ढल्छ श्याम । आधा घण्टा पछि होस् खुल्छ । र फेरि ति निष्ठूरीको पत्र पढ्न शुरु गर्छ । आँखाबाट अविरल आँसुका वर्षाहरु बर्सिरहन्छ । पत्रमा यसरी लेखिएको थियो – श्याम जी, समयको भेलले आज तपाई र मेरो सम्बन्ध दुई किनारा बनाईदियो । त्यो पीपल डाँडामा बाँधेका बाचा– बन्धनहरु आज फुकाउन बाध्य बन्दैछु । श्याम जी, मलाई क्षमा गर्नुहोस्, म तपाईको अंगालोमा रम्न सकिन, म तपाईसंगै रुन चाहान्थे, हाँस्न चाहान्थे, बाँच्न चाहान्थे र मर्न चाहान्थे तर भाग्यले ठगीदिएछ । म तपाईको हुन सकिन् । किनभने आमा– बा ले र साथीभाईले अर्कै व्यक्तिसंग कुरा मिलाई सकेछन् त्यसैले मैले उहाँहरुको कुरा काट्न सकिन । अबदेखि मेरो प्रतिक्षामा नबस्नु ल ! आफ्नो भविष्यको लागि मार्गहरु तयार गर्नुहोला, उही धोकेवाज मित्र नितु ! बाई……… बाई ! श्यामको भक्कानो फुटेर आउँछ, श्वास नै बन्द होला जस्तो हुन्छ, छाती पिट्दै रुन थाल्छ, किन यो हालतमा पा¥यौं मलाई ? हे ईश्वर ..,किन.. ? ए, “नितु” तिमी कहाँ गयौं ? मेरो टाउकोमा हानेर मारीदेऊ, म तिम्रै हातबाट मर्न चाहन्छु । दराजबाट नितुको तस्विर निकालेर हेर्दै झन मुर्छा खान्छ । त्यहाँ सुनसान थियो कोठा पनि, पीडापूर्ण चित्कारहरु मौनतामा विलाईरहेको थियो । ढोकाबाट चियाइरहेछ जस्ता लाग्थ्यो, बाहिर निस्केर घरीघरी हेर्ने गर्दथ्यो ।
अब,जीवनमा दिनप्रतिदिनको सोचाइले श्याको मस्तिष्कले काम गर्न छाड्छ । एकोहोरो हाँस्न थाल्छ, रुन थाल्छ, गीत गाउन थाल्छ र नितुको प्रशंसा गर्दै बाटोमा भाषण गर्दै हिड्न थाल्छ । माया प्रितीका बयान गर्दै हिड्न थाल्छ । यसरी केही महिनापछि ऊ संसारबाट सदाको लागि बिदा हुन्छ ।
नितु मृत्युबाट बाँच्नु नै श्याम मृत्युको मुखमा पुग्नु हो । प्रेमको मूल्य कति थियो भन्ने कुरा न त नितुले, न आमा बा ले र न त छरछिमेकीहरुलाई नै थाहा थियो । त्यो दन्दनी दन्केको आगोका ज्वालाभित्रका चित्कारहरु सुनेर न त जन्म दिने आमा, बाबा न त अरु कसैले आँट गरे, तर नितुको लागि जीवन बलिदान गर्ने एकमात्र व्यक्ति श्याम थियो ।