![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
बिर्तामोड । ताप्लेजुङ महिला फुटबल क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध युवा क्लब सप्तरी प्रथम प्रदेशस्तरीय महिला गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको खेलमैदानमा सोमवार भएको निर्धारित ६० मिनेटको खेलको पहिलो हाफमा सप्तरीले २–० को अग्रता कायम गरेको थियो । उसका लागि खेल सुरु भएको ७ आंै मिनेटमा रजनी ठोकरले पहिलो गोल गरिन् । १२ औं मिनेटमा संगिता सुनारले सप्तरीका लागि दोस्रो गोल गरेकी थिइन् ।
दोस्रो हाफको ३७ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै ताप्लेजुङले एक गोल फर्काएको थियो । उसका लागि संगिता गुरुङले गरेको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो ।त्यसपछि २–१ गोल अन्तरले पछि परेको ताप्लेजुङले खेलको ३९ औं, ४२ औं र ४३ औं मिनेटमा थप तीन गोल खायो । सप्तरीका लागि क्रमशः इशा मगर, रजनी ठोकर र संगिता सुनारले गोल गरेका थिए ।
त्यसपछि ५–१ गोल अन्तरले पछि परेको ताप्लेजुङले खेलको अन्त्यतिर सुधारिएको प्रदर्शन गरेको थियो । उसले सप्तरीविरुद्ध थप दुई गोल फर्कायो । ताप्लेजुङका लागि ५० औं र ५६ औं मिनेटमा सुजता पालुङवाले दुई गोल गरेकी थिइन् । थप गोल गर्न नसक्दा ५–३ गोल अन्तरको पराजय भोग्दै ताप्लेजुङ प्रतियोगिताबाट बाहिरिएको छ ।
सोमवारको खेलमा सप्तरीकी रजनी ठोकर ‘प्लेयर्स अफ द म्याच’ घोषित भइन् । उनले नगद ३ हजार पुरस्कार पाईन् । उनलाई बिर्तामोड–१०का वडाध्यक्ष दुर्योधन गुरुङ र आयोजक ‘अल इन वान’ क्लबका अध्यक्ष कृष्णबाबु योञ्जनले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा मंगलबार गाईघाट फुटबल क्लब उदयपुर र धनकुटा फुटबल संघबीच अन्तिम क्वाटरफाइनल खेलमा प्रतिस्पर्धा हुनेछ ।
१६ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार रुपैंयाँ पुरस्कार पाउने छ । बिर्तामोड–१० को ‘अल इन वान’ क्लबको आयोजनामा जारी प्रतियोगितामा झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।