झाप । झापाको मेचीनगरमा घर भाडामा लिएर अवैध अनलाइन व्यवसाय सञ्चालन गर्ने एउटा गिरोह पक्राउ परेको छ ।
मेचीनगर नगरपालिका –९ स्थित शैलेन्द्र पोद्धारको घरमा राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीले आइतबार छापा मारेर सो गिरोहलाई पक्राउ गरेको हो ।
सो घरमा अवैध अनलाइन व्यवसाय सञ्चालन भइरहेको विशेष सूचनाको आधारमा राजश्व अनुसन्धान विभागले छापा मारेर १० जना भारतीय नागरिकलाई पक्राउ गरेको जनाइएको छ ।
सो घटनाका मुख्य नाइकेसहित अन्य केही व्यक्ति अझै फरार रहेको र उनीहरूको खोजी कार्य भइरहेको स्रोतले जनाएको छ ।
घरमा छापा मारेर संयुक्त टोलीले ४० वटा मोबाइल , एउटा प्रिन्टर, ७ वटा ल्यापटप, एउटा सीसी क्यामेरा बरामद गरेको छ । उनीहरूलाई पक्राउ गरी अनुसन्धानका लागि लगिएको जनाइएको छ । घटनाको विस्तृत विवरण अझै आउन बाँकी छ ।
मेचीनगर ८ धुलाबारीस्थित मेची क्राउन होटेलमा कार्यरत कर्मचारी भन्दै उनीहरूले घर भाडामा लिएर त्यहाँ बस्दै आएको स्थानीयको भनाई छ ।
उक्त होटेलमा कार्यरत छु भन्दै मेचीनगरका धेरै ठाउँमा भारतीय युवायुवती यसरी नै घर भाडा लिएर अवैध ठगी धन्दा चलाउँदै आएको स्थानीय बताउँछन् ।