उत्तरपूर्वी भारतमा जातीय हिंसाका कारण कम्तीमा ५४ जनाको मृत्यु भएको छ । हिंसाबाट बच्न करिब २३ हजार मानिसले भागेर छिमेकी राज्यमा भागेका भारतीय मिडियाले बताएका छन् ।
मणिपुर राज्यमा गत हप्ता एक आदिवासी समूहले निकालेको विरोध प्रदर्शनमा झडप भएपछि सवारीसाधन र घरमा आगजनी भएको भन्दै अधिकारीहरूले अश्रुग्यास प्रहार गरेपछि अशान्ति सुरु भएको थियो । सेनाले म्यान्मारसँग सीमा जोडिएको राज्यमा हजारौँ सैनिक तैनाथ गरेको छ भने कसैलाई हिंसात्मक गतिविधि फैलाउने ‘चरम अवस्थामा’ ‘देख्नेबित्तिकै गोली हान्ने’ आदेश जारी गरेको छ । द्वन्द्वग्रस्त क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गर्दै इन्टरनेट सेवा पनि बन्द गरेको छ ।
सेनाले आइतबार रातभर कुनै ठूलो झडप नभएको र चुराचन्दपुर जिल्लामा बिहान ७ देखि १० बजेको बीचमा कफ्र्यु हटाइएको जनाएको छ । ‘पछिल्लो २४ घन्टामा सेनाले हवाई निगरानी, युएभीको आवागमन र इम्फाल उपत्यकाभित्र सेनाको हेलिकोप्टरको पुनः तैनाथीमार्फत निगरानी प्रयासमा उल्लेखनीय वृद्धि गरेको छ,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘अहिलेसम्म कुल २३ हजार सर्वसाधारणलाई उद्धार गरिएको छ र उनीहरूलाई सैनिक शिविरमा सारिएको छ,’ सेनाको विज्ञप्तिमा भनिएको छ ।
अधिकारीहरूले मृतकको आधिकारिक विवरण नदिए पनि राज्यको राजधानी इम्फाल र चुराचन्दपुरका अस्पतालका मुर्दाघरमा जम्मा ५४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
आदिवासी समूहहरू राज्यको बहुसंख्यक मेइतेई समुदायलाई ‘अनुसूचित जनजाति’ श्रेणीअन्तर्गत मान्यता दिने बहसप्रति असन्तुष्ट छन् । राज्यमा ६० प्रतिशतभन्दा बढी रहेको बहुसंख्यक मेइतेई समुदायलाई समेत अनुसूचित जनजातिमा राख्दा आफूहरूले पाइरहेको सेवा कटौती हुने आदिवासी समूहको डर छ ।
मणिपुरसहित सात राज्य रहेको भारतको उत्तरपूर्वी क्षेत्रमा दशकौँदेखि कैयौँ जातीय असन्तुष्टि देखिने गरेको छ । यस असन्तुष्टिले त्यहाँ पृथकतावादी विद्रोह तथा अधिक स्वायत्तताको माग उठ्ने गर्छ । सन् १९५० देखि यस्ता माग राख्दै भएका विद्रोहमा ५० हजार मानिसहरू मारिएको एक प्रक्षेपण छ । पछिल्लो समय यी द्वन्द्व घट्दै गएका छन् ।