काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रैसी सवार हेलिकप्टर दुर्घटनामा परेको छ । बीबीसीका अनुसार अजरबैजानस्थित एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।
इरानका गृहमन्त्री अहमद वाहिदीले राष्ट्रपति रैसी र विदेशमन्त्री हेलिकप्टरमा सवार रहेको पुष्टि गरेका छन् ।
अलजजिराले खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको उल्लेख गरेको छ ।
राष्ट्रपति रैसी सवार हेलिकप्टरमा विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान, इरानका सर्वोच्च नेताका प्रतिनिधि अयोतल्लाह मोहम्मद अली अल हसम, इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मलिक रहमाती र अन्य धेरै व्यक्ति पनि सवार थिए ।
हेलिकप्टर खोज्नका निम्ति ४० जनाको टोली परिचालन गरिएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार हेलिकप्टरले उडानका क्रममा कठिनाइको सामना गरिएको थियो र ‘हार्ड ल्यान्डिङ’ को प्रयास गरिएको थियो ।
दुर्घटनामा परेको हेलिकप्टर काफिलेमा सञ्चालित तीनवटा हेलिकप्टरमध्ये एक हो ।
धेरै मन्त्री र अधिकारी बोकेका अन्य दुई हेलिकप्टर सकुशल पुगेका छन् ।
इरानका एक मन्त्रीको हवाला दिंदै बीबीसीले दुर्घटनाग्रस्त ठाउँ पत्ता लगाउन समय लाग्ने र धेरै उद्धार टोलीहरू परिचालित भएको लेखेको छ ।