काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।
पहाडी भू-भागको एक-दुई स्थानमा भने मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको उनले बताइन्।
राती पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले जानकारी दिइन्।
पहाडी भूभागमा मात्रै छिटफुट वर्षाको सम्भावना रहेकाले तत्काल तापक्रम घट्ने सम्भावना नरहेको पनि उनले बताइन्। भैरहवा, सिमरा लगायतका क्षेत्रमा आज पनि तापक्रम ४२ डिग्री हाराहारीमा पुग्ने सम्भावना छ।
यसपटक मनसुन ढिला गरि सुरू हुने भएकाले पनि तत्काल तापक्रम घट्ने सम्भावना नरहेको उनले बताइन्।