काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार तेस्रो कार्यकालको लागि शपथ लिने भएका छन् । टाइम्स अफ इन्डियाका अनुसार मोदीले आइतबार साँझ ६ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका छन् ।
यसअघि मोदीले शनिबार प्रधानमन्त्रीको शपथसँगै सरकार गठनको प्रक्रिया अघि बढाउने तयारी गरेका थिए । चुनावी नतिजासँगै राजीनामा दिएकाले मोदी अहिले कामचलाउ प्रधानमन्त्रीको रूपमा रहेका छन् । मोदीको शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत छिमेकी देशका सरकार र राष्ट्र प्रमुखहरू सहभागी हुने भएका छन् ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्गेलगायत पनि सहभागी हुने भारतीय सञ्चार माध्यमले जनाएका छन् । मोदीले यसअघि सन् २०१४ र २०१९ मा सरकारको नेतृत्व गरेका थिए । भारतीय जनता पार्टी (भाजपा)का मोदीलाई प्रधानमन्त्री बनाउन जनता दल युनाइटेडका नितिश कुमार र तेलगु देसम पार्टीका चन्द्रबाबु नायडूले लिखित सहमति गरेका छन् ।
भाजपाको नेतृत्वमा रहेको एनडीए गठबन्धनमा यी दुई दल पनि छन् । भारतमा सरकार बनाउनको लागि आवश्यक २७२ सिट मोदीको पार्टी भाजपासँग छैन । लोक सभा चुनावमा भाजपाले २४० सिट जितेको छ । जनता दल युनाइटेडसँग १२ र तेलगु देसम पार्टीसँग १६ सिट रहेको छ ।
यी दुई दलको समर्थनमा पनि बहुमत नपुगेपछि मोदीले एनडीए भित्रकै अरू दलको साथ खोजिरहेका छन् ।