काँकरभिट्टा । ‘विश्व बालश्रम विरुद्धको दिवस’ आज एक कार्यक्रमका बीच झापाको काँकरभिट्टामा पनि मनाईयो । ‘बालश्रम रोकौं, सुनौलो भविष्यको बारेमा सोचौं’ भन्ने मूल नाराका साथ सोमबार काँकरभिट्टाका ९ वटा संस्थाले संयुक्त रुपमा र्याली निकालेका थिए ।
बालबालिकालाई पढाऔं, मेहनत मजदुरी नगराऔं, सानो हातमा कलम थमाऔं, देश अन्धकार हुनबाट जोगाऔं , भविष्यका कर्णधार हुन् , बालश्रम विरुद्धको विश्व बालश्रम विरुद्धको अन्तर्राष्ट्रिय दिवस सफल पारौं लगायतका विभिन्न प्लेकार्ड सहित निस्किएको र्यालीले काँकरभिट्टा बजार परिक्रमा गरेको थियो ।
नेपाल प्रहरीसहित समुदायीक सेवासँग सम्बन्धीत सरोकारवाला संघ संस्थाहरुको संयुक्त आयोजना आज सोमबार दिवस मनाईएको हो ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा, मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टा, माईति नेपाल, साना हातहरु नेपाल, साहसी महिला नेपाल, आफन्त नेपाल, विश्व सेवा विस्तार संस्था, शक्ति समूह र नेपालका लागि आवाजले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका थिए ।
मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा मेचीनगर नगरपालिका उप प्रमुख मीना उप्रेती रहेकी थिइन् ।
कार्यक्रममा साना हातहरु नेपाल काँकरभिट्टा अध्यक्ष रमेश गुरुङ्ग, प्रमुख अतिथि मीना उप्रेती र कार्यक्रमका अध्यक्ष पौडेलले आफ्ना धारणा संक्षिप्त राखेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा र पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन मेची सामुदायिक सेवा केन्द्रका महासचिव खडानन्द भण्डारीले गरेका थिए ।