एजेन्सी । ग्रीसमा डुङ्गा पल्टिँदा तीन सय पाकिस्तानीको मृत्यु भएपछि पाकिस्तान सरकारले मानव तस्करलाई पक्राउ गर्न थालेको छ । यस सम्बन्धमा एक सरकारी अधिकारीले ग्रीसमा डुङ्गा दुर्घटनामा परी ज्यान गुमाउने अधिकांश पाकिस्तानी रहेको र उनीहरु गैरकानुनी रुपमा युरोप जाने गरेको बताए ।
यद्यपी ग्रीसबाट मृत्यु भएकाहरुको यकिन संख्याको जानकारी भने पाउन सकेको छैन । उक्त दुर्घटनामा १२ जना पाकिस्तानी नागरिकले पौडी खेलेर ज्यान बचाएको अधिकारीले बताएका छन् । तर, अवैध रुपमा युरोप पठाउने १२ मानव तस्करलाई सरकारले पक्राउ गरेको छ ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भने ‘मानव बेचबिखन सहने छैन, यसमा संलग्न सबैलाई कडा कारबाही गरिने छ ।’ पाकिस्तानले ग्रीसमा भएको दुर्घटना र ज्यान गुमाउने व्यक्तिप्रति समवेदना प्रकट गर्दै एक दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ ।
गत शुक्रबारदेखि मानव तस्करविरुद्ध कारबाही भइरहेको एफआइए अधिकारीले बताए । प्रहरीले अहिलेसम्म १२ जना संदिग्धलाई पक्राउ गरेको छ । डिआइजी आलम शिनवारीले मानव बेचबिखनमा संलग्नलाई पक्राउ गर्न ठूलो अभियान चलिरहेको सञ्चारकर्मीलाई बताए । ‘पाकिस्तानमा मानिसलाई ठूला सपना देखाएर अन्य देशमा पठाउने काम भइरहेको थियो,’ उनले भने, ‘यी सबै ठगी गर्नेलाई सरकारले कडा कारबाही गरिरहेको छ ।’
दुर्घटनामा परेको डुंगामा पीओके (पाकिस्तान प्रशासित कश्मीर) को खुरैरट्टा र चर्होईका २१ जना पाकिस्तानी नागरिक थिए। युरोपमा मानव बेचबिखनमा संलग्न चौधरी जुल्कारनैन, तलत कियानी र खालिद मिर्जाजस्ता उच्च प्रोफाइल नामहरूसहितका केही पाकिस्तानीहरू समावेश रहेको अनुसन्धान अधिकृतलाई बताएका छन् ।