जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह ली फङबीच द्विपक्षीय भेटवार्ता भएको छ।
सिचुवान प्रान्तको राजधानी छेन्दुमा आज भएको सो भेटमा द्विपक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको बताइएको छ।
उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले दिएको जानकारीअनुसार दुई देशबीच व्यापार, लगानी, पर्यटन, ‘कनेक्टिभिटी’लगायत विषयमा छलफल भएको छ। यस्तै, चीनद्वारा नेपालमा थप सहयोग बढाउने बारेमा विचारविमर्श पनि भएको छ।
थप व्यापारिक नाका खोल्ने र नेपाल–चीन सीमानाकाहरूमा आवातजावत सहज बनाउने विषयमा समेत सकारात्मक छलफल भएको जानकारी दिइएको छ।
उपप्रधानमन्त्री श्रेष्ठले एक चीन नीति प्रति नेपाल प्रतिबद्ध रहेको दोहोर्याउँदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रतालाई चीनले सधैँ समर्थन गर्दै आएकामा धन्यवाद दिएका थिए।
राजनीतिक स्थिरतासँगै नेपालले आर्थिक समृद्धिमा जोड दिएको प्रसंग उल्लेख गर्दै उनले आगामी दिनमा नेपालको आर्थिक विकासमा चीनको सहयोग र लगानी वृद्धि हुने विश्वास व्यक्त गरेका थिए।
सचिवालयका अनुसार चिनियाँ उपप्रधानमन्त्री फोङले चीनले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिँदै आएको बताए। कोरोना महामारीपश्चात् द्विपक्षीय भ्रमण आदानप्रदान अभिवृद्धि भएको चर्चा गर्दै उनले तातोपानी नाकालाई व्यापार तथा आवातजावतमा खुला गर्न आफूले पहल गर्ने विश्वास दिलाए।
उनले सन् २०१९ मा चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा आफूले पनि काठमाडौंको भ्रमण गरेको स्मरण गर्दै दुई देशबीच अत्यन्त सुमधुर सम्बन्ध रहेको चर्चा गरेका थिए।
‘वेस्ट्रन चाइना इन्टरनेसनल एक्स्पो’मा नेपाल सरकारको तर्फबाट सहभागी हुन श्रेष्ठ चीन गएका हुन्।