काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।
मंगलबार बसेको पार्टी सचिवालय बैठकले प्रधानमन्त्रीलाई बुधबारसम्म राजीनामा गरेर सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको हो ।
नेता प्रदीप ज्ञवालीले बैठकले पार्टी अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिलाई स्वागत गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले भने, ‘सहमतिको सरकारमा सहभागी हुन राजनीतिक स्थायित्वमा सहयोग गर्न सबै राजनीतिक दललाई आह्वान गरिएको छ । एमाले र नेपाली कांग्रेसका बीचमा भएको सहमतिअनुरुप अब संविधानको धारा ७६ (२) को सरकार निर्माणका लागि भोलिसम्ममा मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आव्हान गर्ने निर्णय भएको छ ।’
उनले अहिले कांग्रेस र एमालेबीच मात्रै सहमति भएको बताउँदै अब राष्ट्रिय सहमतिको सरकारको पहल हुने जानकारी दिए । त्यस्तै बैठकले कांग्रेससँगको सहमति अनुसार अध्यक्ष ओलीको नेतृत्वमा गठन हुने सरकारलाई राष्ट्रिय सहमतिको बनाउन अरु दललाई पनि सहभागी हुन आह्वान गरेको छ ।
एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने गएराति सहमति भएको छ । सहमतिअनुसार सुरुमा दुईवर्ष ओली प्रधानमन्त्री बन्नेछन् भने त्यसपछिको बाँकी अवधि देउवा प्रधानमन्त्री बन्नेछन् ।