काठमाडौं । प्रचण्डलाई एकीकृत समाजवादीका सांसद चौधरीको सुझाव– ‘कांग्रेस सभापतिसँगको सम्बन्ध सन्तुलनमा राख्नुहोला’
एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले अबको चार महिनामा फेरि प्रधानमन्त्री प्रचण्डकै अनुकूलतामा परिस्थिति पुग्ने जिकिर गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधिसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा बोल्दै चौधरीले भने, ‘अबको चार महिनामा फेरि तपाईंकै अनुकूलतामा परिस्थिति पुग्नेछ। त्यसैले कांग्रेस सभापति शेरबहादुर देउवासँगको सम्बन्ध सन्तुलनमा राख्नुहोला।’
उनले एमाले अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै मान्छे चिन्न नसक्दा अहिलेको अवस्था आएको भन्दै अहिलेको अवस्था आउनुमा कांग्रेस सभापतिलाई दोष नदिन पनि आग्रह गरे।
‘आज परिस्थिति जस्तो भए पनि नेपाली कांग्रेसका सभापतिलाई दोषी नदेख्नुहोला। सन्तुलनमा राख्नुहोला, चार महिनामै परिस्थिति अनुकूल त भइहाल्छ,’ सांसद चौधरीले प्रचण्डलाई भने, ‘आजको मिति गनेरै बसौँ, चार महिनामा परिस्थिति तपाईंकै अनुकूलतामा हुनेछ।’
प्रधानमन्त्री प्रचण्डले पटकपटक आफूहरूलाई भुल्ने गरेको भए पनि ०५२ देखि ०६१–६२ सम्म नयाँ जागरणको नेतृत्व गरेकाले आफूहरूले सधैँ माया गर्ने गरेको उनको भनाइ थियो।