काँकरभिट्टा । झापाको मेचीनगर सञ्चार प्रतिष्ठानको संचालन कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतले ताला लगाईदिएका छन् ।
नगरपालिकाका जनप्रतिनिधिले सञ्चार प्रतिष्ठानका लागि उपलब्ध गराएको कोठामा प्रमुख प्रशासकीय अधिकृतले ताला लगाईदिए पछि प्रतिष्ठानको कार्यालय राख्ने बिषयले विवादउत्पन्न भएको हो ।
नगरकार्यपालिका कार्यालयको तेस्रो तलामा प्रतिष्ठानको कार्यालय राख्ने भनेर तोकिएको कोठामा रंगरोगनको काम समेत सकिए पछि सञ्चार प्रतिष्ठानको कार्यालय नगरपालिका परिषर भित्र राख्न नमिल्ने भन्दै प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले उक्त कोठामा ताला लगाएकाहुन् ।
प्रतिष्ठानको कार्यालय व्यवस्थापनका लागि आवश्यक फर्निचर, ल्यापटप र प्रिन्टर समेत खरिद गरिसकेको अवस्थामा जनप्रतिनिधिले उपलब्ध गराएको कोठामा नगरका प्रमुख प्रशासकीय अधिकृतले ताला लगाएर कार्यालय राख्न नदिने भनेसंगै सञ्चार प्रतिष्ठानको कार्यालय स्थापानाको बिषय नै अन्योलमा परेको देखिन्छ ।
‘नगरपालिकाको परिषर भित्र सञ्चार प्रतिष्ठानको कार्यालय राख्न मिल्दैन,’ प्रमुख प्रशासकीय अधिकृत पराजुलीले भने—‘मेरै निर्देशनमा ताला लगाएको हो ।’
सञ्चार प्रतिष्ठानको कार्यालय स्थापनाको तयारी भइरहेको बताउँदैं प्रतिष्ठानका सदस्य सचिव प्रकाश पौडेलले तालाबन्दी गरेको बिषय आफुलाई जानकारी नभएको बताए ।
‘हामी प्रतिष्ठानको कार्यालय स्थापनाको तयारीमा छौं,’ सचिव पौडेलले भने—, ‘नगरपालिकाले उपलब्ध गराएको कोठामा नै प्रतिष्ठानको कार्यालय स्थापनाका लागि रंगरोगन र फर्निचर लगायतको व्यवस्था भइसकेको छ तर उक्त कोठामा ताला लगाएको बिषयमा हामीलाई आधिकारीक जानकारी छैन ।’
विवादका बीच गठन गरिएको सञ्चार प्रतिष्ठानको कार्यालय व्यवस्थापनका लागि भन्दै मेचीनगर नगरपालिकाले चालु आर्थिक बर्ष २०७९÷०८० मा दुई लाख ५० हजार रकम बिनियोजन गरेकोबुझिएको छ ।
उक्त प्रतिष्ठान गठन गर्दा कतिपय स्थानीय संचार माध्याम भने बेखबर थिए ।