नेपाली महिला राष्ट्रिय फुटबल टिम बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेलमा विजयी भएको छ। दोस्रो खेलमा नेपालले पेनाल्टी सुटआउटमा ४-२ गोलको जित निकाल्यो।
नेपालको जितमा गोलकिपर अन्जना राना मगरले उत्कृष्ट खेल देखाइन्। ९० मिनेटमा एन्जिला तुम्बापो सुब्बाको स्थानमा मैदान छिरेकी अन्जनाले बंगलादेशकी शेउली अजीम र मारिया मान्डाको प्रहार विफल पारिन्।
नेपालका लागि अन्जना स्वयमले पेनाल्टीमा गोल गर्न सकिनन्।
बंगलादेशको राजधानी ढाकाको कमलपुरस्थित सहिद सिपाही मोहमद मुस्ताफा कमल रंगशालामा भएको खेलको ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो।
यसअघि घरेलु टिम बंगलादेशविरूद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली महिला राष्ट्रिय फुटबल टिमले एक एक गोलको बराबरी खेलेको थियो।
इन्जुरी टाइमको दोस्रो मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल गरेपछि नेपालले सम्भावित हार टारेको थियो।
नेपाली राष्ट्रिय टिम अहिले एसियन गेम्सको तयारीमा छ। चीनमा सेप्टेम्बर-अक्टोबरमा हुने एसियन गेम्सको तयारीका लागि नेपालले मैत्रीपूर्ण खेल खेलेको हो।
नेपाल र बंगलादेशबीच गत वर्षको साफ च्याम्पियनसिपपछि पछिल्लो पटक प्रतिस्पर्धा भएको थियो। साफको फाइनलमा नेपालमाथि बंगलादेशले ३-१ गोलको जित निकाल्दै उपाधि जितेको थियो।