२ साउन, काठमाडौं । ‘नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन’ भन्ने शीर्षकमा फ्रान्सको सबैभन्दा ठूलो दैनिक पत्रिका ‘लि माेन्ड’ ले समाचार प्रकाशित गरेको छ ।
मंगलबार प्रकाशित उक्त समाचारको ‘लिडलाइन’ मै पत्रिकाले ‘राजनीतिक अस्थिरताको ओलम्पिक खेलमा नेपालले शीर्ष स्थान कायम राखेको छ,’ भन्ने उल्लेख छ ।
प्रधानमन्त्रीका रूपमा आइतबार सपथ खाएका केपी शर्मा ओली विगत १५ वर्षमा बनेका चौधौं प्रधानमन्त्री रहेको ‘लि मोन्ड’ ले लेखेको छ ।
नेपालमा सन् १९९० मा संसदीय प्रजातन्त्र पुनर्स्थापना भएपछिका उनी ३०औं प्रधानमन्त्री हुन् ।
यो भनेको हरेक वर्ष नयाँ प्रधानमन्त्री फेरिन्छ भन्ने हो । ३ करोड जनसंख्या भएको सानो हिमाली गणतान्त्रिक मुलुकका लागि यो महत्त्वपूर्ण उपलब्धि भएको भन्दै पत्रिकाले व्यंग्यवाण समेत प्रहार गरेको छ ।
नेपालको पछिल्लो इतिहासमा चिजहरू जति धेरै बदलिन्छन्, उति नै धेरै उस्तै रहन्छन्,’ लि मोन्डले लेखेको छ ।
युरोपेली शैलीको सामाजिक प्रजातान्त्रिक सिद्धान्तमा विश्वास गर्ने पार्टी एमाले नेता ओली सन् २०१५ पछि चौथोपटक देशको नेतृत्वमा फर्किएको उसले उल्लेख गरेको छ ।
‘उनले प्रतिस्थापन गरेका पूर्वमाओवादी गुरिल्ला प्रधानमन्त्री पुष्पकमल दाहाल सन् २००९ पछि तेस्रोपटक प्रधानमन्त्री भएका थिए,’ समाचारमा छ ।
नेपालको राजनीतिमा नेताहरूबीच गठबन्धन, प्रतिगठबन्धन, उलटफेर तथा विश्वासघात चक्मा दिने खालको रहेको समाचारमा उल्लेख छ ।
‘उदाहरणका लागि कम्युनिस्टहरू कहिले वर्षौंदेखिका शत्रुतापूर्ण सम्बन्ध रहेको चरम राजतन्त्रवादीसँग गठबन्धन गर्छन्,’ ले मोन्डेको समाचारमा छ, ‘पूर्वप्रधानमन्त्री दाहालले यसअघि दशकौंदेखि सबैभन्दा भयंकर विरोधी रहेको नेपाली कांग्रेससँग गठबन्धन गरेका थिए ।’