झापा । भारतबाट सामान ल्याउँदा एक सय रुपैयाँभन्दा बढीको भन्सार शुल्क लाग्ने नयाँ नियमको विरोधमा आज काँकरभिट्टाका साना व्यापारीले नाकामा अवरोध गरेका छन् ।
नेपाल सरकारले केन्द्रमा यस्तो नियम बनाएपछि यसको कार्यान्वयन यही साउन १ गतेदेखि देशैभरका भन्सार नाकाहरुमा भइरहेको छ ।
विरोधमा उत्रिएकाहरुको दावी अनुसार दैनिक भारतीय सीमावर्ती बजारमा गएर अलिकति सामान किनेर ल्याउने साना व्यापारी र सर्वसाधारणलाई यो नियमले मार परेको छ ।
काँकरभिट्टामा महिलाहरुको अधिक सहभागिता रहेको जुलुसले भन्सार कार्यालय अगाडि प्रदर्शन गर्नुका साथै नाकामा यातायात अवरोधको प्रयास गरेको थियो ।
मेचीनगर होटल व्यवसायी संघले समेत भन्सारको नयाँ नियमको विरोध गरेको छ । प्रदर्शनमा होटल व्यवसायीहरुको समेत सहभागिता रहेको थियो ।
प्रदर्शनमा उत्रिएका साना व्यापारीहरुले सरकारको नयाँ नियम गरीवमारा भएको भन्दै चर्को नाराबाजी गरेका थिए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले भीडलाई हटाएर नाका खुलाएको थियो ।
यसैबीच, साना व्यापारीको समूहले आजै मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीलाई भेटेर विरोध जनाएको छ । समूहले भन्सारको नयाँ नियम हटाउन माग गरेको थियो ।
उपप्रमुख उप्रेतीले यो नियम नगरपालिकाले नलगाएको भनेर समूहलाई सम्झाइबुझाई गरेकी थिइन् । उप्रेतीले यो नियम संघीय सरकारले नै लगाएको स्पष्ट पारेकी थिइन् ।