![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
ट्युनिसियाको तटीय गार्डले यो वर्षको पहिलो ६ महिनामा डुंगाबाट युरोप जाने क्रममा मरेका ९०१ जनाको शव भेटिएको देशका गृहमन्त्री कामेल फेकीले बुधबार संसद्लाई बताए । ‘जनवरी १ देखि जुलाई २० सम्म ३६ ट्युनिसियाली, २६७ विदेशी आप्रवासी र बाँकी पहिचान नभएका शव समुद्रबाट निकालिएको छ,’ विदेशमन्त्री फेकीले बताए । उनका अनुसार यस अवधिमा ३४ हजारभन्दा बढीको उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये ३० हजारभन्दा बढी विदेशी नागरिक रहेको र तीमध्ये अधिकांश सब–सहारा अफ्रिकाका रहेको बताइएको छ ।
उत्तर अफ्रिकी देश ट्युनिसिया युरोपमा राम्रो जीवनको आशामा जोखिमपूर्ण समुद्री यात्राको प्रयास गरिरहेका अनियमित आप्रवासी र शरण खोज्नेहरूका लागि एक प्रमुख प्रवेशद्वार बनेको छ । ट्युनिसिया युरोपियन मुलुक इटलीको टापु लाम्पेडुसाबाट लगभग १३० किलोमिटर मात्रै टाढा छ । इटलीको सरकारी तथ्यांकअनुसार यो वर्षको सुरुदेखि जुलाई १४ सम्म करिब ७५ हजार ६५ आप्रवासी ढुंगा चढेर इटलीको तटमा ओर्लिए । यसको आधा संख्या ट्युनिसियाबाट हिँडेका थिए । बाँकी ठूलो संख्या युद्धग्रस्त लिबियाबाट गएका हुन् ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठनका अनुसार सन् २०१४ यता मध्य भूमध्यसागरीय क्षेत्र विश्वको सबैभन्दा खतरनाक आप्रवासी मार्ग बनेको छ । यस मार्गमा २० हजारभन्दा बढीको ज्यान लिइसकेको छ ।