धरान । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगले कोशी प्रदेशमा भयावह स्थिती सिर्जना गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार कोशीमा तीन हजार हाराहारीमा डेंगु सङ्क्रमित भेटिएका छन् ।
त्यसमध्ये सुनसरीको धरान उपमहानगरपालिका डेंगुबाट अति प्रभावित भएको छ । धरानमा मात्रै दुई हजार एक सय सङ्क्रमित भेटिँदा सात जनाले ज्यान गुमाइसकेका छन् ।
पछिल्ला केही दिनयता धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान डेंगु सङ्क्रमितले भरिभराउ हुन थालेपछि कोभिड–१९ अस्पताललाई रुपान्तरण गरी डेंगु अस्पताल बनाइएको छ ।
डेंगु संक्रमणबाट जेठ २३ गते यता चार महिला र तीन पुरुषको मृत्यु भइसकेको छ । अहिले पनि एक सय जनाको डेंगु परीक्षण गर्दा सरदर ५९ जना सङ्क्रमित भेटिन्छन् ।
धरान उपमहानगर क्षेत्रभित्र मात्रै यतिबेला डेंगु सङ्क्रमितको सङ्ख्या दुई हजार एक सय १९ रहेको छ ।
डेंगु सङ्क्रमितले यहाँका निजी तथा सरकारी अस्पताल अहिले भरिभराउ छन् । तर परीक्षण किट र औषधिको अभाव भएपनि उपमहानगरले ‘सर्च एन्ड डेस्ट्रोयी’ अभियान चलाएर डेंगुमुक्त धरान बनाउने प्रयत्न गरिरहेको छ।