काठमाडौं । एक सय किलो सुन तस्करी प्रकरणको अनुसन्धान अब नेपाल प्रहरीले गर्ने भएको छ ।
राजस्व अनुसन्धान विभागले आइतबार यो प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरु प्रहरीलाई जिम्मा लगाएको हो । अब यो प्रकरणका अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अघि बढाउने छ ।
सुन तस्करी प्रकरणको बृहत् अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरीलाई जिम्मा दिने निर्णय भएको विभागका महानिर्देशक नवराज ढुंगानाले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए ।
पक्राउ परेका आरोपित, बरामद सबुत प्रमाण र अनुसन्धानको प्रगति प्रतिवेदन विभागको टोली प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई हस्तान्तरण गर्न जाँदैछ । त्यसपछि प्रहरी प्रधान कार्यालयले यसको अनुसन्धानको जिम्मा सीआईबीलाई दिनेछ ।
सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व र भन्सार छलीमा मात्रै गर्दा जरोसम्म पुग्न नसकिने निष्कर्षसहित सरकारले संगठित अपराध, अन्तर्देशीय अपराध र आतंकवादसँग पनि जोडेर अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको हो । सीआईबीमा वित्तीय र संगठित अपराध हेर्ने छुट्टै युनिट छन् ।
उक्त प्रकरणमा विमानस्थल भन्सारका तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् ।