![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
मेचीनगर । मेचीनगरको धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयमा डुबेर मृत्यु भएका बालक घटनामा पक्राउ परेका प्रिन्सिपल मनोज गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/08/ad-Dengui-scaled-1-1536x611-1-1024x407.jpg)
अन्य दुई जना आरोपीलाई धरौटी छाडने झापा जिल्ला अदालतले आदेश दिएको छ । अदालतमा आइतबार भएको थुनछेक बहसपछि प्रिन्सिपल गुरुङलाई थुनामा राख्ने आदेश दिएको जनाइएको छ ।
घटनाका आरोपीहरू रुपमा स्कुलकी व्यवस्थापक मेचीनगर–१० निवासी २४ वर्षीया अनिशा पोखरेल र सुसारे कर्मचारी मेचीनगर–११ निवासी ३५ वर्षीया रमा सुनार धरौटी छुटेका छन् ।
अदालतले पोखरेललाई २ लाख र सुनारलाई ५० हजार धरौटीमा रिहा गरेको हो । किन्डर गार्टेनका सञ्चालक काठमाडौँ–३१ निवासी ४२ वर्षीय सुरेन रसाइली भने अझै पक्राउ परेका छैनन् ।
अदालतमा थुनछेकको बहसमा वादीका तर्फबाट अधिवक्ता सुरज खत्री, शान्ता पाठक र सरकारी वकिलले बहस गरेका थिए । त्यस्तै प्रतिवादीका तर्फबाट अधिवक्ता अशोककुमार पोखरेलले बहस गरेका थिए ।
गत असार २५ गते किन्डर गार्टेनको सेप्टिक ट्याङ्कीमा डुबेर आठ वर्षीय बालक तान्छोपहाङ लिम्बुको मृत्यु भएको थियो । उनका बुवा खर्कबहादुर सुब्बाले छोरा तान्छोपको मृत्यु शङ्कास्पद भएको भन्दै प्रहरीमा जाहेरी परेपछि प्रिन्सिपल गुरुङसहित तीन जनालाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/07/khabarad.gif)