एजेन्सी । ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा विमानमा रहेका सबै ६२ जनाको ज्यान गएको छ ।
दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेको विमान भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ ।
दुर्घटनामा चालक दलका चार सदस्य र ५८ जना यात्रु गरी ६२ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखिन्छ । विमान खस्दै गर्दा घुमिरहेको थियो । आवासिय क्षेत्रमा भएको दुर्घटनामा एउटा घरमा क्षति पुगेको छ ।
तर त्यसबाट थप मानविय क्षति नभएको खबरमा उल्लेख छ । प्रहरी र दमकलले दुर्घटनास्थलमा उद्दार र भग्नावशेष हटाउने काम गरेका छन् ।
एटीआर ७२–५०० विमान दुर्घटनापछि । फ्रान्सेली–इटालियन विमान निर्माता कम्पनी एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ ।
ब्राजिलको नागरिक उड्डयन एजेन्सीकाअनुसार सन् २०१० मा निर्माण भएको विमान राम्रो अवस्थामा सञ्चालन भइरहेको थियो ।