झापा, २७ साउन । अर्जुनधारा नगरपालिका क्षेत्रबाट एउटा भरुवा बन्दुक र चोरीका सामानसहित ३ जना युवाहरु पक्राउ परेका छन् । शनिबार राति प्रहरी चौकी शनिश्चरेको टोलीले अर्जुनधारा–४ स्थित देवान चोकबाट भरुवा बन्दुक र चोरीका सामानसहित पक्राउ पर्नेमा वर्ष २२ को छिरिङ तामाङ, वर्ष १९ को आदित्य लिम्बु र वर्ष २१ को निखिल तामाङ रहेका छन् ।
पक्राउ परेका छिरिङ तामाङको घरमा लुकाई छिपाई राखिएको अवस्थामा एउटा भरुवा बन्दुक समेत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । छिरिङ तामाङको साथबाट चाँदीको औठी–२ थान, चाँदीको पाउजु–२ थान, चाँदीको सिक्री–१ थन र एनसेल कम्पनीको रु.५० दरको रिचार्ज कार्ड ५ थान फेला परेको थियो ।
त्यस्तै आदित्य लिम्बुको साथबाट चाँदीको सिक्री–१ थान, नेपाल टेलिकमको रु.५० दरको १९ थान रिचार्ज कार्ड प्रहरीले बरामद गरेको थियो । यसैगरी निखिल तामाङको साथबाट चाँदीको सिक्री–१ थान बरामद गरिएको डीएसपी चन्दले बताए ।
अर्जुनधारा–७ स्थित मिलडाँडाकी ईन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलमा राति १०ः१० मा ताला फुटाइ नगद लगायत सामानहरु चोरी भएको भन्ने जानकारी पाउन साथ प्रहरीले साढे १० वजे राति नै उनीहरुलाई पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार किराना पसलबाट चोरी गर्दा प्रयोग भएको एउटा खुकुरी समेत फेला परेको छ ।