भद्रपुर । लागुऔषधलाई प्लास्टिकले पोका बनाएर मलद्वारमा लुकाएर नेपाल भित्र्याइएको अवस्थामा प्रहरीले भद्रपुरबाट २ जनालाई नियन्त्रणमा लिएको छ।
लुकाइछिपाई ल्याउँदै भद्रपुरको मेची पुलमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
भद्रपुर नगरपालिका-५ मेची पुलमा अस्थायी प्रहरी बिट र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प ३२८७ नम्बरको मोटरसाइकलमा सवार भद्रपुर-८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित साहलाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा उनको मलद्वारबाट १३ ग्राम ३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा ल्याई सोधपुछ गर्ने क्रममा भक्तपुर सूर्य विनायक नगरपालिका -३ बस्ने २८ वर्षीय सन्दीप थापाका लागि ल्याएको बताएपछि उनलाई समेत खोजतलास गर्ने क्रममा भद्रपुर- ८ स्थित हस्पिटल मोडबाट पक्राउ गरिएको छ ।
दुवैलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।