झापा । चाडबाड नजिकिएसँगै झापाका सीमा नाकाबाट प्रतिबन्धित बारुदजन्य पदार्थ पटाका भित्रिन थालिसकेको छ । सशस्त्र प्रहरीले कचनकवल गाउँपालिका ५ स्थित सुनकोशी चिया बगानबाट ठूलो परिमाणमा पटाका बरामद गरेसँगै नाकाबाट भित्रिन थालेको प्रमाणित भएको हो ।
तिहार आउन करिब २ महिना बाँकी रहँदा बिहीबार साढे ८ बजेको समयमा सशस्त्र प्रहरीले ठुलो परिमाणको पटाका बरामद गरेको छ । योसँगै तस्कर समूह अहिलेदेखि नै पटाका भित्र्याउन लागिपरेको पाइएको हो ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट डाँगावारीबाट खटिएका सशस्त्रको टोलीले भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको करिब ४ लाख ७० हजार मुल्यबराबरको पटाकासहित एउटा मोटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी दिनेश कटुवालले जानकारी दिए ।
सो पटाका भारतीय नम्बर प्लेट बीआर ३७ जे ५२५७ नम्बरको मोटरसाइकलमा राखेर भित्र्याइरहेको अवस्थामा सशस्त्र प्रहरीले फेला पारेको थियो । पटाकाहरूमा ८२ बन्डल खुर्सानी, २७ बन्डल रकेट, ११ बन्डल कलर सेट, ३८ बन्डल कलर रेन पटाका रहेको छ ।
बरामद गरिएको पटाकालाई नष्ट गरिएको छ भने नियन्त्रणमा लिएको मोटरसाइकललाई ८० हजार मूल्याङ्कन तोकेर भन्सार बुझाइएको डीएसपी कटुवालले बताए ।