मकवानपुर,
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू राम्रो काम गरेर देखाउन तेस्रोपटक प्रधानमन्त्री भएको बताएका छन्। प्रधानमन्त्रीका रूपमा आफ्नो तेस्रो कार्यकाललाई अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले प्रधानमन्त्री भएसम्म राम्रो काम गर्ने उनको भनाइ छ।
आइतबार हेटौँडामा चार दल सम्मिलित समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राम्रो काम गर्दा पदबाट हटाइन्छ कि भन्ने चिन्ता नभएको प्रस्ट पारे।
‘म प्रधानमन्त्री भएदेखि नै सरकारले धेरै राम्रा कामहरू गरिरहेको छ। सरकारले देशमा व्याप्त रहेको भ्रष्टाचार, बेथिति र कुशासनका विरुद्ध अभियान नै सञ्चालन गरेको छ। म प्रधानमन्त्रीहुन्जेल यो अभियान रोकिन्न,’ उनले भने।
केही व्यक्तिलाई आफ्नो सरकारले चालेको सुशासनको अभियान मन नपरेको उनले दाबी गरे। कुशासनबाट फाइदा लिइरहेकाहरू सुरुदेखि नै अभियानबाट आत्तिएको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार र सुशासनका पक्षमा भइरहेको अभियान नरोकिने बताए।
उनले आफूविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सामान्य विषय नभएको पनि बताए। त्यसले आफूलाई कमजोर पार्ने कोसिस गरेको उल्लेख गर्दै उनले आफू प्रतिक्रियावादीको त्यसखालको क्रियाकलापबाट विचलित नभएको बताए। परिवर्तनका लागि जनयुद्धबाट आएका एक कार्यकारी प्रमुखविरुद्धको मुद्दा विस्तृत शान्ति सम्झौताविपरीत भएको प्रचण्डको जिकिर छ।
प्रधानमन्त्री प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नकै लागि आफूहरूले समाजवादी मोर्चा बनाएको बताए। उनले मोर्चाको कार्यक्रम अहिले कोठामा गरेको देखिए पनि आवश्यकता परे प्राप्त उपलब्धिको रक्षाका लागि लाखौँ जनतालाई सडकमा उतार्न पनि तयार रहेको चेतावनी दिए।
यस्तै, उनले अहिले हेर्दा मोर्चामा चार दल मात्रै रहे पनि यसको प्रभावले निकट भविष्यमै कम्युनिस्ट केन्द्र निर्माण हुने दाबी पनि गरे। ‘अहिले हामी मोर्चामा चार दल मात्रै छौँ। तर, हामीले जनताको परिवर्तनको नेतृत्व गरिरहेको सन्दर्भमा यही मोर्चा भोलिको दिनमा कम्युनिस्ट केन्द्र बन्छ। कम्युनिस्टहरू विभाजित मात्र हुन्छन् भन्ने कुरालाई पनि यसले गलत साबित गर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।