काँकरभिट्टा । बहुसाँस्कृतिक एकता समाजले काँकरभिट्टामा बाल उत्सव समारोह सम्पन्न गरेको छ । ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा समाजले मेचीनगरका विभिन्न क्षेत्रका बालबालिकाको उपस्थितिमा शनिबार विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।
मेचीनगर-६, काँकरभिट्टास्थित मेची सामुदायिक भवनमा सम्पन्न कार्यक्रममा बालबालिकाहरुले चित्रकला, नाटक, गायन र नृत्यमा सहभागी भएका थिए । कार्यक्रममा बलभद्र जनता मावि र जोड साँस्कृतिक एकता समाजका कलाकारहरुले पछिल्लो समय नेपालमा शिक्षा क्षेत्रको अवस्था र देखिएका समस्या केन्द्रित विषयवस्तुमाथी नाटक प्रस्तुत गरेका थिए ।
आदर्श मावि इटाभट्टा, बलभद्र जनता मावि धाइजन, सरस्वती बाल कल्याण मावि सहरेडाँगी, बालबाटिका मन्टेश्वरी चारआली, नबिनतारा अंग्रेजी माविका विद्यार्थीहरु ले विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।
त्यस्तै अग्रज पत्रकार जिएन शर्माले बालबालिका र विदेशीनु पर्ने अभिभावकको हालको समसामयिक सन्दर्भमा रचना गरेको कवितालाई कलाकार केसाङ लामाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले देश विकासका लागि बालबालिकाहरुमा लगानी गर्नुपर्ने बताए । उनले आमाबुवा र शिक्षकहरुले बालबालिकाको चाहना र क्षमता बुझेर सहयोगी भूमिका निर्वाह गर्नुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास समिति संयोजक हृदय राजवंशीले बाल दिवसमा विशेष कार्यक्रमको आयोजना गरेकोमा आयोजकप्रति आभार प्रकट गरे ।
उनले बालबालिकाहरुको नृत्य, गायन र नाटकमा गरेको भुमिका देखेर आफू नतमस्तक भएको बताए । उनले कार्यक्रम आयोजना स्थल मेची सामुदायिक भवन काँकरभिट्टाको हलमा नगरपालिकाको तर्फबाट पङ्खा जडान गर्न आफुले पहल गर्ने र अर्को वर्ष कार्यक्रम गर्दा गर्मीलाई झेल्न सहज हुने वातावरण तय गर्ने गरि आफुले पहल गर्ने आश्वासन दिए ।
कार्यक्रमका परिकल्पनाकार वरिष्ठ कलाकार केसाङ लामाले शब्द र बाल कलाकारले बुद्ध गीतमार्फत स्वागत गरेको कार्यक्रमको अध्यक्षता समाजकी अध्यक्ष मनकुमारी गिरी र संचालन शिक्षक जीआर धितालले गरेका थिए ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रमुख तथा शिक्षक प्रतिनिधि, अभिभावक, सामाजिक अभियन्ता, बाल अधिकारकर्मी, कलाकारहरुको उपस्थिति रहेको थियो ।