काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या १ हजार २ सय नाघेको छ । शनिबार बिहान हमासको आक्रमणमा परी मृत्यु हुनेको संख्या १ हजार २ सय नाघेको र ३ हजारभन्दा बढी घाइते भएको टाइम्स अफ इजरायलले जनाएको छ ।
हमासले गाजापट्टी लगेका करिब १ सय ५० जनाको अवस्था अझै अज्ञात रहेको पनि समाचारमा उल्लेख छ । इजरायली स्वास्थ्य मन्त्रालयका अनुसार अझै पनि ५ सय जना अस्पतालमा उपचाररत छन् ।
टाइम्स अफ इजरायलका अनुसार इजरायलका विभिन्न ठाउँमा अन्तिम संस्कार गरिएको छ । इजरायली डिफेन्स फोर्सका अनुसार हमासले शनिबार बिहान ५ हजारभन्दा रकेट प्रहार गरेको थियो ।
इजरायली डिफेन्स फोर्सले ७० भन्दा बढी हमासको अड्डामा आक्रमण गरेको बताएको छ । इजरायली हवाई आक्रमणमा गाजामा १ हजारभन्दा बढीको मृत्यु भएको छ ।
पछिल्लो समय लेबनानी भूभागबाट समेत हिजबुल्लाहले इजरायलतर्फ आक्रमण गरेको इजरायली सुरक्षा अधिकारीले जनाएका छन् ।
बीबीसीले १७ जना बेलायती नागरिक हराइरहेको वा मृत्यु भएको हुनसक्ने समाचारमा उल्लेख गरेको छ । शनिबारको आक्रमणमा १० जना नेपालीसहित विभिन्न देशका मानिस मारिएका छन् ।