झापा । झापाको मेचीनगर स्थित काँकरभिट्टामा लैङ्गिक हिसा विरुद्ध १६ दिने अभियान सुरु भएको छ । “ लैङ्गिक हिँसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानी ऐक्यबद्धता ” भन्ने नाराका साथ आजदेखि काँकरभिट्टामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु भएको हो । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको आयोजनामा सुरु भएको अभियानमा आज पहिलो दिन प्रभात फेरि कार्यक्रम गरेको छ ।
काँकरभिट्टामा विभिन्न संघ संस्था र विधार्थीले र्यालीमा प्लेकार्ड लिएर आज बजार परिक्रमा गरेका थिए । र्याली काँकरभिट्टा बजार परिक्रमा पछि कोण सभामा परिणत भएको थियो । कोण सभाको अध्यक्षता काँकरभिट्टाका प्रहरी प्रमुख डिएसपी दिपक भारतीले गरेका थिए भने कार्यक्रममा प्रमुख अतिथि मेचीनगर ४ का वडा अध्यक्ष अजुर्न कार्की रहेको थियो । सभामा प्रज्ञा शुभद्रा भट्टराई अर्याल र माईती नेपालका गोविन्द घिमिरेले आफ्नो मन्तव्य राखेका थिए ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टाको आयोजना रहेको सो कार्यक्रममा सहकार्य मेची सामुदायिक सेवा केन्द्र, मेची नगरपालिका, माईती नेपाल, साना हातहरु, साहसी महिला नेपाल, विश्व सेवा विस्तार र आफन्त नेपालको रहेको थियो ।
बेलुका पूर्वी नाकामा दिप प्रज्वलन कार्यक्रमगरि लैङ्गिक हिँसा विरुद्ध १६ दिने अभियान सुरु गरेको छ । यो अभियान मेचीनगरमा १६ दिनसम्म विभिन्न कार्यक्रम आयोजना गरि निरन्तर गरिरहने प्रहरी नायव निरिक्षक मिलन राईले जानकारी गरेकी थिईन् ।