प्रत्येक बर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउदै आएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अहिले चलिरहेको अवस्था छ । लैङ्गिक हिंसा विरुद्व काम गरिरहेको लैङ्गिक समानता र न्यायका पक्षमा काम गरिरहेको महिला अधिकार, मानव अधिकारका क्षेत्रमा काम गरिरहेका सबै सरकारी तथा गैरसरकारी निकायहरू यस अभियानमा सरिक भइरहेका छन् । आवाज उठाउदै आइरहेको छ, तर पनि त्यति नै समाजमा लैङ्गिक हिंसाका घटनाहरू बढिरहेको अनुभव गरिएको छ ।
लैंगिक हिंसा के हो ?
लैंङ्गिक समानता कायम गर्न तथा लैंङ्गिक हिंसा अन्त्य गर्न बनेको ऐन, २०७२ बमोजिम “लैंङ्गिक हिंसा भन्नाले सार्वजनिक वा नीजि जीवनमा लिङ्गको आधारमा कसैप्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्याउने कार्य सम्झनु पर्छ ।
लैङ्गिक आधारमा शारीरिकरुपमा सोषण तथा हिंसा, आफ्नो फाइदाको लागि मानसिक रुपमा हिंसात्मक टचर दिएर , सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्नेगरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा भनिन्छ । स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्दछ ।
साथै, लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्याउने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।
शारीरिक हिंसा ः
शारीरिक हिंसा भनेको मानव शरीरमा कष्टकरकासाथ जीवन जिउन बाध्य गराउनु हो । कुनै कारणबीना माथिल्लो तहका ब्यक्तिहरुले कुटपिट गर्दै आफ्नो फाइदा लुट्ने गर्दछ , घरभित्रै राखेर शारीरिक अंगभंग गर्ने काम गर्दछन् बाहिरी समाजमा निस्यो भने सबैकुरा थाहा पाउने डरले त्यस्ता कार्य गर्दछन् यस्ता अंगभंगले गर्दा देखा पर्नु लजाउछ भनेर, काममा सधै दलाई रहने र घोक्रयाउने जस्ता कार्यहरु गरिहन्छन् । बोली फर्काएमा चुप लगाउँदै शरिरका नदेख्ने भागमा पोल्ने गर्दछन् । आफ्नो क्षमता भन्दा पनि जबरजस्ती काममा लाद्ने गर्दछन् । जबरजस्ती गर्भपतन गर्न लगाउनु, लगातार कामको बोझ थपेर दुःख दिनु वा शारीरिक रुपमा घाऊ, चोटपटक वा क्षति पुग्ने गरि गरिने कुनै पनि प्रकारका शारीरिक यातना हिंसात्मक अन्तर्गत पर्दछन् ।
मानसिक हिंसा ः
आफूलाई महान सम्झेर अरुलाई होच्याएर अपशब्दको प्रयोग मानसिकरुपमा चोट पुरेयाउनु, सार्वजनिक एवं कार्यस्थलमा दुव्र्यवहार, डर धम्की दिने, त्रासपूर्ण व्यवहार गर्ने,अपशब्द बोल्ने, गालीगलौच गर्ने, आत्महत्यासम्म गर्ने स्थितिको सृजना गराउनुु, अरुको अगाडि होच्याउने, इच्छा आकांक्षा दबाउनुपर्ने, झुठा बात लगाउने, चरित्र हत्या हुने खालका शब्दहरुको प्रयोग, छोरी जन्माई भनेर हेला गर्ने, गर्भ परिक्षण गरी छोरी देखिएमा गर्भपतन गर्न दबाब दिने, इज्जत आमद अनुसार खानलाउन नदिई घरबाट निकाली दिने, इच्छा विपरित काम गर्न लगाउने साथै बैचारिक, धार्मिक, साँस्कृतिक तथा परम्पराका आधारमा गरिने भेदभावलाई समेत जनाउँदछ ।
आर्थिक हिंसा ः
आर्थिक यातना भन्नाले सगोल वा निजी सम्पत्तिको प्रयोग गर्न वा रोजगारी वा आर्थिक स्रोत र साधनको पहुँच वा प्रयोगमा वञ्चित गर्ने कार्य सम्झनु पर्छ ।
आर्थिक हिंसा भनेको आर्थिक रुपमा आय आर्जन हुने खालका काम गर्नमा रोक लगाउनु, आवश्यक पर्ने खर्च (पैसा) नदिनु वा सधैं अभावमा रहिरहनुपर्ने पैसा माग्नु पर्ने बाध्यता सृजना गर्नु, आफूले पाउने पैसा वा तलव बिभिन्न बिषयहरुमा खर्च भइसकेको भन्दै तलव नदिने, थोरै पैसामा धेरै काम गर्नुपर्ने,बलजफती काममा लगाउने र पारिश्रमिकमा भनें अरुको खटनमा हुनुपर्ने बाध्यता छ । उसले जीवनभरि आर्थिक शोषणमा रहेर जिउनुपर्ने कस्तो समाज हो । यहाँ त हुनेले नहुनेलाई शोषण गर्दछ । कति त लैंगिक हिंसाको आवाज उठाउँनेहरुबाटै यस्ता अपराधपूर्ण हिंसात्मक गतिबिधिहरु घटेको पाइन्छ । यस्ता कुराहरुलाई मानव अधिकार तथा सभ्य समाजहरुद्धारा सुष्म अनुसन्धान गर्नु जरुरत देखिन्छ ।
सगोल वा निजि सम्पतीको प्रयोग गर्न वा रोजगारी वा आर्थिक श्रोत साधनको पहुंच वा प्रयोगमा बञ्चित गर्ने कार्यलाई आर्थिक हिंसा जनाउँदछ ।
यौनिक वा यौन हिंसा
काम गर्ने स्थान, अध्ययन–अध्यापन गर्ने स्थान, सार्वजनिक यातायात वा अन्य सार्वजनिक स्थानमा, घरभित्र वा जुनसुकै स्थानमा गरिने बलात्कार, बलात्कारको प्रयास, यौन दुव्र्यवहार, यौनशोषण, जबरजस्ती संवेदनशील अगंहरु छुने वा छुवाउने जबरजस्ती वा झुक्याएर यौन चित्र फोटो वा फिल्म देखाउने वा जबरजस्ती संवेदनशील चित्र, फोटो वा फिल्म खिच्ने, यौनजन्य कुराकानी वा शब्दहरूको प्रयोग गर्ने वा यस्तै प्रकारका अन्य घटनाहरू यौनिक हिंसा भित्र पर्दछन् । यौनिक हिंसाको धेरै जसो घटनाहरू चिनेजानेकै व्यक्तिहरूबाट हुने गरेको तथ्याङ्कले देखाउँछ ।
यस्ता हिंसाहरुलाई स्थानिय सरकार, गैरसरकारी संघ–संस्थाहरु, प्रदेश र संघिय सरकार, महिला तथा बालबालिका तथा मानव अधिकारको सक्रियतामा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा समन्वय गरेता पनि निर्मूल हुन नसकेकाले सबैको सक्दो चासो र लागिपर्नुपर्ने देखिन्छ ।
त्यसैले, यस्ता हिंसा, बलात्कार, बेचबिखन र सबैखाले यौनजन्य अपराधहरुको रोकथाम र पीडित÷प्रभावितहरुको हक–हितको रक्षा, प्रवर्द्धन र क्षतिपूर्तिको निम्ति सिङ्गो समाज नै जागरुक र जिम्मेवार हुन आवश्यक छ । यसको विरुद्ध के सरकार, के राजनैतिक पार्टी, के नागरिक समाज,संघ संस्था सबै मिलेर समाजमा जागरण र संघर्ष उठाउन जरुरी छ ।