काठमाडौँ । साहित्य संवर्द्धन केन्द्र, नेपालको अगुवाइमा शुक्रवार प्रथम साहित्य दिवस कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेर सुरु गरिएको कार्यक्रममा काठमाडौँका करिब ३०–४० साहित्यिक संस्थाहरूको सहभागिता थियो ।
दिवस अन्तर्गत भानु माध्यमिक विद्यालय (दरबार हाइस्कूल) को प्राङ्गणमा बिहान ७ः३० बजे भेला भएर ८ बजे रानीपोखरी र टुँडिखेलको परिक्रमा (प्रभातफेरी) गरी समापन गरिएको साहित्यकार सूर्यकुमार पण्डितले जानकारी दिए ।
साहित्य केन्द्र २०६९ सालमा स्थापना भई २०७१ सालमा काठमाडौँमा दर्ता भएको भएको थियो । यसपटक नेपाली साहित्यको प्रवर्द्धन र प्रचार प्रसार गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको पण्डितको भनाइ छ । हाल संस्थाको अध्यक्षमा वरिष्ठ साहित्यकार भुवनहरि सिग्देल रहेका छन् ।
साहित्य संवर्द्धन केन्द्रका विगतका बारेमा वरिष्ठ साहित्यकार माधव पोखरेलले र भावी कार्यक्रमका बारेमा अध्यक्ष सिग्देलले प्रकाश पारेका थिए । सो अवसरमा कार्यक्रममा भाग लिएका संस्थाहरूलाई प्रमाण पत्र पनि वितरण गरिएको थियो ।