काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७० वर्ष पुगेको छ ।
दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखमा सगरमाथाको शिखरमा पुग्नुभएको थियो ।
सोही आरोहणलाई स्मरण गर्दै सगरमाथा आरोहणको ७०औँ वर्षगाँठको सन्दर्भमा ‘प्लाटिनम जुब्ली’ मनाइने भएको छ । आगामी मे २९ तारिखमा नेपालमा भव्य कार्यक्रम गरी मनाइने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले जनाएको छ ।
प्लाटिनम जुव्लीलाई भब्य रुपमा मनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । समितिमा नेपाल पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, होटल सङ्घ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)लगायत पर्यटन क्षेत्रका अगुवा संस्थाका प्रमुख एवम् प्रतिनिधि सदस्य छन् ।
समितिले प्लाटिनम जुब्लीलाई भव्यरुपमा सम्पन्न गर्नका लागि पूर्वतयारीका काम अघि बढाएको छ । समितिको बैठकले प्लाटिनम जुब्लीको कार्यतालिका तय गरेको एनएमएका महासचिव मोहन लम्सालले जानकारी दिनुभयो । “सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा मनाउन लागिएको प्लाटिनम जुब्लीलाई सफल बनाउन कार्यक्रम तालिका बनाइरहेका छौँ, विदेशी पाहुना बोलाउनेलगायतका तयारी गरिएको छ”, उहाँले भन्नुभयो ।
महासचिव लम्सालका अनुसार ‘एभरेष्ट समिट’ आयोजना गरी विश्वभरका सगरमाथा आरोहीलाई नेपाल सरकारकोतर्फबाट सम्मान गर्ने कार्यक्रम छ ।
एनएमएका पूर्वअध्यक्ष एवं प्रमुख सल्लाहकार आङछिरिङ शेर्पाका अनुसार मे २९ तारिखका दिन सोलुखुम्बुको खुम्जुङमा विशेष कार्यक्रम हुनेछ । त्यहाँ तेञ्जिन शेर्पाका छोरा जम्लिङ तेञ्जिङ शेर्पा र हिलारीका छोरा पिटर हिलारी सहभागी हुने कार्यक्रम छ ।
खुम्जुङको औपचारिक कार्यक्रम सकेर पर्वतारोहण सङ्घले काठमाडौँमा छुट्टै कार्यक्रम आयोजना गर्नेछ । आरोहीको सम्मानमा ¥याली, सम्मान र रात्रिभोजलगायतका कार्यक्रम गरिने सङ्घले जनाएको छ ।
हिमालबारे जानकारसमेत रहनुभएका शेर्पाले सगरमाथाको प्लाटिनम जुब्ली कार्यक्रमको माध्यमबाट नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय जगतमा प्रवद्र्धन गर्न उपयोगी हुने बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “सगरमाथा संसारको उच्च शिर भएकाले सगरमाथामा हुने हरेक गतिविधिहरु राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियाले सम्प्रेषण गर्ने भएकाले ७० वर्षे प्लाटिनम जुब्लीले पर्यटनमा केही न केही हलचल ल्याउनेमा विश्वास छ ।”
नेपालमा सर्वोच्च शिखर सगरमाथासहित ८ हजार मिटर अग्ला आठ वटा हिमाल नेपालमा छन् । हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको आरोहण पूरा गरिसकेका छन् । सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँनयाँ कीर्तिमान समेत थप्दै आएका छन् ।
कामीरिता शेर्पाले २६ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँ वसन्त ऋतुको यो सिजनमा पनि आफ्नै कीर्तिमान तोड्न सगरमाथा आरोहणमा निस्कनुभएको छ ।
पर्यटन विभागका अनुसार नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले आरोहण शुरु गरेयता हालसम्म करिब सात हजार आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । सन् २०२१ र २०२२ को संख्या जोड्दा आठ हजार बढीले सगरमाथा आरोहण गरेका हुन् ।
सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाउनु भएको थियो । पासाङ ल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला हुनुहुनछ । एक तथ्याङक अनुसार हालसम्म तीनसय भन्दा बढी आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन् ।
सन् २०२३ को वसन्त ऋतुको आरोहण पनि उत्साहबद्र्धक हुने अनुमान गरिएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेल यो वर्ष उल्लेख्य सङ्ख्यामा आरोही आउने विश्वास छ । एनएमएका महासचिव मोहन लम्साल पनि यो सिजनको सगरमाथा आरोहण उत्साहबद्र्धक हुने बताउनुभयो ।
सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङमा शेर्पाले पनि वसन्त ऋतुको सगरमाथा आरोहण राम्रो हुने सङेकेत देखिएको बताउनुभयो । शेर्पाको कम्पनीबाट मात्रै अहिले ८० भन्दा बढी आरोही सगरमाथा आरोहणको तयारीमा छन् ।
विभागको पर्वतारोहण शाखाका अनुसार वसन्त ऋतुको सगरमाथा आरोहणका लागि यस वर्षको यस सिजनमा मात्रै २० आरोही समूहका एक सय ९७ जनाले सगरमाथाआरोहण अनुमति लिएका छन् ।
यद्यपि, वसन्त ऋतुको सगरमाथा आरोहणको सँघारमा आधार विविर माथितिर भएको हिम पहिरोको घटनाले आरोहणलाई प्रभावित तुल्याउने होकी भन्ने पर्वतारोहीमा चिन्ता थपिएको छ ।
चालु वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि बाटो निर्माण गर्न आवश्यक सामग्री पु¥याउने क्रममा आधार शिविरदेखि माथि क्याम्प–१ को बीचमा ‘आइसफल’ क्षेत्रको दाम भन्ने स्थानमा गत चैत २९ गते बिहान हिउँको ढिस्कोले पुरिएर दाछिरी शेर्पा, पेम्वा तेन्जिङ शेर्पा र लाक्पा रीता शेर्पा बेपत्ता भएका छन् । उनीहरुका खोजीकार्य जारी रहेको जनाइएको छ ।
“यो सिजनको सगरमाथा आरोहण ठीकै होला, तर, आरोहणको शुरुमै तीन आरोही हिम पहिरोमा परी बेपत्ता भएको घटनाले आरोहणलाई झस्काएको छ”, एनएमका पूर्वअध्यक्ष शेर्पाले भन्नुभयो ।
उहाँका अनुसार जलवायु परिवर्तनले विश्वतापमान वृद्धि भएकाले हिमालमा ढिलोगरी हिउँ पर्ने भएकाले हिमाल आरोहणका सिजनमा पनि परिवर्तन भइरहेको छ । सन् २०७० देखि ८० सम्म सगरमाथा आरोहण शरद ऋतुमा उपयुक्त मानिन्थ्यो । पछिल्लो पटक वसन्त ऋतुमा सगरमाथा आरोहण सर्वाधिक हुने गरेको छ ।
शेर्पाको भनाइमा शरद ऋतुमा आठ हजार मिटर अग्ला हिमालमा तीव्र गतिमा हावा चल्ने भएकाले आरोहण कठिन हुन्छ ।
सगरमाथा, कन्चनजङ्गा, ल्होत्से र मकालु हिमाल आरोहण गर्न कठिन हुन्छ । चोयु, धौलागिरी, मनास्लु र अन्नपूर्ण हिमाल आरोहणका लागि दुवै सिजन आरोहणका लागि सहज हुन्छ । नेपालमा हाल पाँच हजार आठ सय मिटरभन्दा अग्ला चार सय तीन हिमाल आरोहणका लागि खुल्ला गरिएको छ ।