पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको अर्थतन्त्रमा उत्पन्न विषम परिस्थितिलाई सामान्य रूपमा लिन नसकिने बताएका छन् । ऋण काढेर कर्मचारीले तलब तथा जनप्रतिनिधिले सेवा सुविधा लिनुपर्ने परिस्थिति रहेको भनी सरकारी अधिकारीले नै बताउनुले मुलुक गम्भीर सङ्कटतर्फ गएको पुष्टि भएको लिङ्देनको भनाइ छ ।
आइतबार राप्रपा पाँचथरले फिदिममा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले चालु खर्च चलाउन ऋण उठाउनुपर्ने स्थिति सामान्य कुरा नरहेको र यो अवस्था सहजै समाधान गर्न कठिन हुने बताए ।
राप्रपाले स्पष्ट नीति र कार्यक्रम लिएर देशको अवस्था सुधार गर्न लागि परेको बताउँदै उनले आफ्नो दलसँग रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, शिक्षा र स्वास्थ्यलाई अधिकारका रूपमा दिने दृष्टिकोण रहेको दाबी गरे ।
सरकारमा सहभागिता जनाएर ४० दिनको अवधिमा भ्रष्टाचार नगर्ने सङ्कल्पलाई पुष्टि गर्नुका साथै कर्मचारीतन्त्र खराब छ भन्ने अफवाहलाई गलत साबित गरेको उनको भनाइ छ ।
राप्रपाका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सदस्य प्रेमराज थाम्सुहाङ, राप्रपाका नेता मानदेव केरुङ, राजकुमार जोशी लगायतले आफ्ना धारणा राखेका थिए ।