नेपाली कांग्रेस कोशी प्रदेशका सांसदहरूले केन्द्रमा एउटा र प्रदेशमा अर्को सत्ता गठबन्धनको कल्पना पनि गर्न नसकिने बताउँदै ‘सबैलाई भाग पुर्याउने गरी अघि बढेको’ छलफल तत्काल रोक्न माग गरेका छन्।
आफ्नै पार्टी केन्द्रका प्रभावशाली नेताहरूले नै सबै दलले मुख्यमन्त्रीको पालो पाउने गरी ‘राष्ट्रिय सहमतिका आधारमा प्रदेश सरकार बनाउने’ छलफल अघि बढाएपछि कांग्रेस कोशी प्रदेशका सांसदहरूले यस्तो माग गरेका हुन्।
कोशी प्रदेशको प्रतिकूल गणितलाई आधार बनाउँदै कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री भीष्मराज आङ्देम्बेसहितको टिमले यस्तो प्रस्ताव अघि सारेको कांग्रेस नेताहरूले नै बताएका छन्।
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीसमेतको सहमतिमा यस्तो छलफल अघि बढाइएको बताउँदै कांग्रेस कोशी प्रदेशका एक पदाधिकारीले भने, ‘नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पालैपालो नेतृत्व गर्ने गरी प्रदेशमा ‘सहमतिका आधारमा सरकार’ को प्रस्ताव अघि आएको हो।’