काठमाडौं,
अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको फिल्म ‘फर्की फर्की’मा जोडी बाँधिने भएको छ । ‘सानो मन’ फेम्ड निर्देशक सुयोग गुरुङको निर्देशनमा बन्न लागेको फिल्ममा उनीहरुले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् । शुक्रबार दिउँसो निर्माता रोहित अधिकारीले अनमोलसँग कागजी सम्झौता गरेका हुन् । जसिताभन्दा भने केही हप्ताअघि नै सम्झौता भैसकेको छ ।
आगामी भदौ छेकोबाट छायांकनमा जान लागेको फिल्मको निर्मातामा रोहित अधिकारीसँगै ओम अग्रवाल र श्याम कँडेल रहेका छन् । मनोज वली र राम न्यौपाने सह-निर्मातामा छन् । रोहित अधिकारी फिल्मस्, ओएसआर डिजिटल र हिमालय टीभीबीच सहकार्य भएको फिल्मको कथा तथा पटकथा निर्देशक गुरुङले तयार पारेका हुन् । नरेन्द्र मैनालीले फिल्मको छायांकन गर्नेछन् ।
यस फिल्ममा अपूर्व तामाङ, नरेन लिम्बु र कालिप्रसाद बाँस्कोटाको संगीत, रोमन बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र निमेष श्रेष्ठको सम्पादन रहनेछ । श्रद्धा मास्के मेकअप आर्टिस्ट रहेको फिल्मको प्रोडक्सन डिजाइनर सुप्रन श्रेष्ठ हुन् । फिल्म लभस्टोरी कथामा बन्नेछ । यसअघि रोहितले अनमोललाई लिएर फिल्म ‘गाजलु’ बनाएका थिए । ७ वर्षपछि उनीहरुबीच पुनः सहकार्य भएको हो ।
अनमोल बैशाखबाट फिल्म ‘जेरी : अन टप’को छायांकनमा व्यस्त हुनुपर्ने थियो । छायांकनको पहिलो सेड्युल अष्ट्रेलियामा थियो । तर, अहिले त्यहाँ अत्यन्त चिसो (विन्टर सिजन) भएकाले फिल्मको छायांकन डेढ महिना पछाडि धकेलिएपछि उनले ‘फर्की फर्की’ सम्झौता गरेका हुन् । प्राप्त जानकारी अनुसार, उनले ‘जेरी : अन टप’को छायांकन पूरा गरेपछि ‘फर्की फर्की’मा काम गर्नेछन् । – फिल्मीखबर,