मेचीनगर । मेचीनगर नगरपालिकाले आज काँकरभिट्टामा आयोजना गरेको लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको प्रभातफेरि कार्यक्रममा सयौ सहभागीतामा सुरू भएका छन् ।
मंसिर ९ देखि २४ गतेसम्म महिला हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
सोमबार पूर्वी नाका काँकरभिट्टामा नगरपालिकाले एक औपचारिक कार्यक्रम आयोजना गरेर लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू गरेको हो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीलगायतको उल्लेख्य सहभागीतामा विभिन्न प्लेकार्ड सहित काँकरभिट्टा बजार परिक्रमा गरिएको थियो ।
अभियानको सुरूवात गर्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कानुनले बर्जित गरेको कुनै पनि कार्य सचेत नागरिकले गर्न नहुने बताए । उनले पछिल्लो समय विभिन्न लैंगिक हिंसाका घटनाहरू बढ्दै गइरहेको बताउँदै त्यसलाई निराकरण गर्न सबै लाग्नुपर्ने बताए ।
उनले अहिलेको समयमा पनि विभिन्न कारणले लैंगिक हिंसा हुने गरेको र त्यसलाई संरक्षण राजनीतिक र प्रतिष्ठित व्यक्तिहरूबाट हुने गरेको बताउँदै यस्तो कार्यमा गलत जोसुकै भएपनि कानुनी दायरामा ल्याउनुपर्ने बताए । साथै उनले नगरपालिका लैंगिक हिंसा विरूद्ध गम्भीर रहेको बताए ।
कार्यक्रममा उपप्रमुख मीना पोख्रेल उप्रेतीले जुनसुकै कारणले भएपनि लैंगिक हिंसा घटाए पनि त्यो कानुनी दायरामा ल्याएर छाड्ने बताइन् । उनले मेचीनगर क्षेत्रमा पनि विभिन्न प्रकृतिका लैंगिक हिंसाहरू घट्ने गरेको भएता पनि अब त्यसलाई निर्मुल पार्न आफुहरू लागि परिरहेको बताइन् । उनले नगरपालिकाले लैंगिक हिंसा विरूद्ध विभिन्न कार्यक्रमहरू अगाडि बढाइएको जानकारी दिइन् ।
इप्रकाबाट सुरु भएको र्याली हनुमान मन्दिर अगाडि पुगेर कोणसभामा परिणत भएको कार्यक्रम वरिष्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीले सञ्चालन गरेको थियो ।