काठमाडौं ।
सरकारले विमान दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
समितिमा नेपाल एयरलाइन्सका क्याप्टेन दिपु ज्वारचन, श्री एयरलाइन्सका इन्जिनियर सञ्जय अधिकारी, पुल्चोक इन्जिनियरिङ क्याम्पसका सहप्राध्यापक सुदीप भट्टराई र पर्यटन मन्त्रालयका प्राविधिक अधिकृत मुकेश डंगोल रहेका छन् ।
समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।
त्यस्तै सरकारले विमान दुर्घटनामा निधन भएकाको सम्झनामा विहिबार देशभर राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको गुरुङले जानकारी दिएका छन् ।
साथै सरकारले आगामी दुर्घटना हुन नदिन हाल संचालनमा रहेका विमानको अनिवार्य प्राविधिक परिक्षण गर्ने र नागरिक उडड्यन प्राधिकरणले सो को अनुगमन गर्न निर्देशन दिएको उनले बताए ।